26 September 2021  |   आइतवार, अशोज १०, २०७८

कोहलपुरमा राष्ट्र बैंक निर्माणको काम शुरु हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४  

कोहलपुर, २६ भदौ, नेपाल राष्ट्र बैंकले कोेहलपुर नगर विकाससँग लिएको जग्गामा आफ्नो क्षेत्रीय कार्यालय निर्माण गर्ने काम शुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले संघीय संरचना नबन्दै मध्यपश्चिम क्षेत्रीय कार्यालयको रुपमा निर्माण गर्ने उद्धेश्यले कोहलपुर नगर विकास समितिसँग पाँच विगाह जग्गा लिएको थियो ।
जग्गा प्राप्त गरेसँगै प्रारम्भिक चरणमा जग्गाको सिमाना छुट्याउने र बाउन्डरी वाल गर्न शुरु गरेको थियो । तर सो जग्गाको दक्षिणमा पूर्व–पश्चिम बाटो खोल्न लाग्दा  शिव मन्दिरको केही भाग परेको र मन्दिर व्यवस्थापन समितिले  तत्काल सो स्थान खाली नगरिदिएपछि नगर विकासले बाटो खोल्ने सकेको थिएन । बाटो  नखोलेको भन्दै बैंकले पनि आफ्नो बाउन्डरीवाल गर्ने काम रोकेको  थियो । राष्ट्र बैंकले त्यही कारणले कोहलपुर नगर विकास समितिलाई जग्गा वापतको बाँकी झन्डै रु ८  करोड ५० लाख रकम पनि  रोकिदिएको थियो । हाल नेकपा माओवादी केन्द्रको तर्फबाट अवराज खड्का नगर विकास समितिको अध्यक्षमा नियूक्त भएर आएपश्चात शिव मन्दिरलाई अनेत्र स्थानान्तर गर्ने सहमति भएपछि राष्ट्र बैंकले पनि आफ्नो काममा चासो देखाएको  छ ।
आइतबार मात्रै नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारबाट सामान्य सेवा विभागका उपनिर्देशक हिम प्रसाद न्यौपानेको नेतृत्वमा प्राविधिक सहितको टोली आई जग्गाको अवलोकन र शिव मन्दिरको बारेमा नगर विकास समितिले गरेको सहमती समेत अध्ययन गरेको थियो ।
अनुुगमनमा आएका उपनिर्देशक न्यौपानेले ‘ शिव मन्दिर अनेत्र स्थानान्तर गर्ने सहमती गरेकोले अब नगर विकास समितिले राष्ट्र बैंकको जग्गाको दक्षिणतर्फको बाटो पनि खोल्ने छ भने आफ्नो जग्गाको चारैतिर बाउन्डरी निर्माणको काम सुरु गर्ने बताए ।
साथै न्यौपानेले जग्गाको लेभल मिलाउनलाई डिजाइनिङ भइसकेको छ, अब बाँकी काम पनि छिट्टै पूरा गरी दशै तिहारको लगत्तै निर्माणको टेण्डर खोलिने
बताए । उता राष्ट्र बैंकले कोहलपुर नगर विकास समितिलाई दिने बाँकी रकम पनि केही प्रक्रिया पूरा गरेर नगर विकास समितिलाई प्राप्त हुने नगर विकास समितिका अध्यक्ष अवराज खड्काले बताए ।

प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     12:10:49 PM  |