19 August 2022  |   शुक्रबार, भदौ ३, २०७९

‘अस्पतालको लापरबाहीले खुट्टा गुम्यो’ ः पीडित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४  

कोहलपुर, ३० असार / कोहलपुर ११ का नारायण प्रसाद भट्टराईले नेपालगञ्जस्थित एक निजी हस्पिटलको लापरबाहीका कारण आफ्नो बाँया खुट्टा गुमाउनु परेको छ । नेपालगञ्ज १२ मा रहेको माँ जानकी हस्पिटल प्रा.लि.ले उपचारमा लापरबाही गर्दा खुट्टा गुमाउनु परेको पीडित भट्टराईले आरोप लगाएका छन् ।
बायाँ खट्टाको गोलीगाँठोमा सानो घाउ भएपछि २०७४ बैशाख ३० गते अस्पताल भर्ना भएका थिए । भर्ना भएको ९ दिन सम्म पनि घाउ ठिक हुनुको साटो झन् बल्झन थालेपछि भट्टराईलाई जेष्ठ ८ मा आफन्तले भारतको लखनऊ लगे । लखनऊका विभिन्न अस्पताल लगिएपनि खुट्टा काटेर फाल्नुपर्ने अवस्था आएपछि उनलाई जेष्ठ ९ गते काठमाडौं बि एण्ड बि अस्पताल भर्ना गरिएको उनका साथी सन्दिप सिंहले बताए ।
खुट्टाको अवस्था जटिल बन्दै गएपछि बिएण्डबि अस्पतालमा जेष्ठ १४ गते खुट्टा काटिएको थियो ।  ‘अस्पतालले एकदमै लापरबाही गरेको छ,’ सिंहले भने, ‘जसकारण भट्टराईको जीवनमा ठूलो क्षति हुन पुगेको छ, दोषीलाई कडा कारबाही हुनुपर्छ ।’
उपचारमा संलग्न डा. श्याम सुन्दर यादवले उपचारमा लापरबाही नभएको बताएका छन् । आफूले समयमै लखनऊ, काठमाडौं लगायतका अन्य ठूला अस्पतालमा लैजान सुझाव दिएको तर, उनले नमानेको उनको भनाई छ । ‘उहाँको ५–६ वर्ष पहिलेदेखिकै समस्या हो,’ उनले भने, ‘मैले समयमै रेफर नगरेको भए ज्यानलाई पनि खतरा थियो ।’
क्षतिपूर्ति माग डाक्टरको लापरबाहीले बायाँ खुट्टा काट्नुपरेको भन्दै पीडितले क्षतिपूर्तिको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका छन् । पीडितले ५० लाखको क्षतिपूर्ति माग गरेका  हुन् । बायाँ खुट्टा गुमाएपछि घरपरिवारको गुजारा समेत बन्द भएको भन्दै क्षतिपूर्तिको माग गरिएको छ । भट्टराईका श्रीमति, दुई छोरी, एक छोरा छन् ।

प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४     12:52:54 PM  |