19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

गन्तव्य सुनिश्चित गर्न आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ७, २०७४  

कोहलपुर, ७ असार / नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम संयोजक झलक गैरेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका पत्रकारहरुलाई आफ्नो गन्तव्य सुनिश्चित गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ बाँकेले मंगलबार आयोजना गरेको उम्मेदवारहरुलाई शुभकामना तथा सम्मान कार्यक्रममा गैरेले राजनीति र पत्रकारितासँगै अगाडि बढाउँदा स्वार्थ बाझिने भएकाले दुई मध्य एक रोज्नुपर्ने बताए ।
‘राजनीति र पत्रकारिता दुई वटा छुटाछुटै लिक हो’ उनले भने, ‘दुईवटै एकैपटक हिँड्दा सन्तुलन बिग्रिएर दुर्घटना हुन सक्छ ।’
राजनीतिक यात्रा तय गर्ने निश्चित गरिसकेपछि महासंघको सदस्यता त्याग्नु नै नैतिकता हुने उनको भनाई छ ।
पत्रकार महासंघ बाँकेका ७ जना सदस्यहरु स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बनेका छन् । उमा थापा नेपालगन्ज उप–महानगरपालिकाको उपमेयर, सकिल खान डुडुवा गाउँपालिकाको प्रमुख, दिपा आले खजुरा गाउँपालिकाको उपप्रमुख, अछरी पोखरेल नेपालगन्ज १० बाट सदस्य, शिव सुनार कोहलपुर ५ बाट अध्यक्ष, विरेन्द्र प्रकाश पुन नेपालगन्ज २० बाट अध्यक्ष, मेराज सल्मानी नेपालन्ज ४ बाट सदस्य पदको उम्मेदवार बनेका छन् ।
महासंघ शाखा गत असार ३ गते भएको बैठकले उम्मेदवार भएका महासंघका सदस्यहरुलाई नैतिकताको आधारमा राजिनामा दिन आव्हान गरेको थियो । आव्हान लगत्तै सदस्य सकिल खानले राजिनामा दिएपनि अन्य उम्मेदवार बनेका सदस्यले त्यसबारे औपचारिक धारणा दिएका
छैनन् । उम्मेदवार पत्रकारलाई क्षेत्रीय संयोजक गैरे, वरिष्ठ पत्रकार शिव डोटेल, वरिष्ठ पत्रकार पूर्णलाल चुके, प्रेस चौतारीका पूर्व उपाध्यक्ष सुरेन्द्र काफ्ले, पूर्व अध्यक्ष रुद्र सुवेदी, शाखा अध्यक्ष थारु लगायतले दोसल्ला र कदरपत्र पत्रले सम्मान गरेका थिए ।
कार्यक्रम शाखा अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मितिः बुधबार, असार ७, २०७४     1:47:07 PM  |