रुकुम, २९ जेष्ठ / विभिन्न निकायहरुबाट प्रवाह सार्वजनिक सेवालाई प्रभावकारी बनाउन रुकुममा हेड नेटवर्क गठन भएको छ । जिल्लामा क्रियाशिल भई स्वास्थ्य, शिक्षा, कृषि र प्रकोप व्यवस्थापन क्षेत्रमा विभिन्न परियोजना मार्फत कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरु भेला गरेर नेटवर्क गठन गरिएको छ । स्वास्थ्य, शिक्षा, कृषि र प्रकोपको अग्रेजी शब्दको पहिलो अक्षरबाट हेड नेटवर्क नाम राखिएको हो ।
रुकुमेली समाज विकास केन्द्र रुकुमका कार्यकारी निर्देशक भिम केसीले नेटवर्कले नयाँ संविधानको परिकल्पना गरे अनुसार देश संघिय संरचनामा गैसकेको र स्थनीय तहमा जनप्रतिनिधिहरु समेत निर्वाचित भएर आईसकेको वर्तमान अवस्थामा गैरसरकारी संस्थाहरुले के–कसरी काम गर्दा कामको प्रभावकारीता देखिन्छ भनेर रचनात्मक काम र बहस गर्नेछ । छलफलबाट आएका बिषयवस्तुलाई गैरसरकारी संस्था महासंघ मार्फत समाधान तर्फ अगाडी बढ्न यस्तो नेटकर्वको आवश्यकता परेको केसीले बताए ।
मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रुकुम अन्तरगत नागरिक समाजः पारस्परिक जवाफदेहिता परियोजनाले नेटवर्क गठनका लागि समन्वय गरेको हो । जिल्लामा क्रियाशिल १५ वटा गैरसरकारी संस्था सदस्य रहेको हेड नेटवर्कको पहिलो बैठक आगामी साउन पहिलो साता रुकुमेली समाज विकास केन्द्रको आयोजनामा बैठक बस्नेछ । हरेक महिना सबै संस्थाहरुले क्रमशः घुम्ती बैठकको आयोजन गर्ने र आयोजक संस्थाले नै उक्त वैठकको अध्यक्षता समेत गर्नेछ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४