
काबुलमा विस्फोटपछि एक सर्वसाधरण । तस्बिर: एजेन्सी
काबुल: अफगानिस्तानको राजधानी काबुलमा भारतीय दूतावास नजिकै बुधबार बिहान भएको शक्तिशाली विस्फोटनमा कम्तिमा पनि ८० जना मारिएका छन् । यो घटनामा कम्तिमा ३५० जना घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । समाचार एजेन्सीले अफगान स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै दिएको समाचार अनुसार अहिलेसम्म ६५ जनाको शव बरामद भइसकेको छ ।
यो विस्फोट भारतीय दूतावासबाट करिब डेढ किलोमिटरको दुरीमा ट्रकबाट गरिएको हो । तर पनि अहिलेसम्म यो हमलाको निशाना कसलाई बनाइएको हो भन्ने खुल्न सकेको छैन ।
समाचार अनुसार शक्तिशाली विस्फोटले त्यस क्षेत्रमा रहेका कयौँ देशका राजदूतावास र आसपासका अन्य कार्यालयका झ्याल ढोकाका शिशासमेत फुटेका छन् ।
यो आक्रमणमा कुन् समूह संलग्न थिए भन्ने खुल्न सकेको छैन । यो घटनापछि गृहमन्त्रालयले रक्तदानका लागि जनतालाई आह्वान गरेको छ ।
अफगान गृहमन्त्रालयले काबुलका बासिन्दालाई अस्पताल पुगेर रक्तदान गर्न अपिल गरेको हो ।
यो घनापछि मानिसहरु सुरक्षा जाँच चौकीमा आफ्ना आफन्त खोज्न पुगेका छन् । अफगानिस्तानको तोलो न्यूज एजेन्सीका अनुसार हमलामा मारिएकाहरु धेरैजसो सर्वसाधरण नागरिक हुन् ।
शनिवारमात्रै अफगानिस्तानको खोस्त शहरमा भएको बम आक्रमणमा कम्तिमा पनि १८ जना मारिएका थिए । शनिवार नै अफगानिस्तानको अर्को भूगोलमा सुरक्षाकर्मी र आतंकवादीबीच भएको भिडन्तमा कम्तिमा पनि ३६ जना मारिएका थिए ।
शुक्रवार तालिबान आतंकवादीले कन्धारको एक सैन्य बेमा आक्रमण गरेर १५ जना सैनिकको ज्यान लिएका थिए ।