29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

दोश्रो चरणको चुनाव भयरहित बनाउनुपर्नेमा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४  

कोहलपुर, ५ जेष्ठ / आगामी जेष्ठ ३१ गते हुने स्थानीय तहको चुनाव भय रहित बनाउनुपर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
युएनडिपिको आयोजनामा बिहीबार नेपालगन्जमा भएको हिंसा रहित स्थानीय निर्वाचन विषयक कार्यशालामा सहभागीहरुले शान्ति र सद्भावका साथ चुनावी मैदानमा उत्रने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यशालामा प्रदेश नम्बर ५ को मुख्य शहर नेपालगन्जका धर्म गुरुहरु, विभिन्न पार्टीका प्रतिनिधिहरुले समेत स्थानीय तहको निर्वाचनलाई हिंसा रहित सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
युएनडिपि बाँके शाखाका प्रमुख शतिष पाण्डेले सुरुवात गरेको कार्यशालामा क्षेत्रिय निर्वाचन कार्यालय बाँकेका प्रमुख वसन्त राज अधिकारीले स्थानीय तहको निर्वाचनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालगन्ज जस्तो बहुभाषिक र सद्भावको शहरमा सुरक्षा निकाय, विभिन्न पार्टीका नेता, पत्रकारहरुका बीचमा निर्वाचन अधिकृत तेज नारायण पौडेलेले स्थानीय तहको निर्वाचनको मत गणनाको परिणाम १८ घण्टा भित्रमा दिने प्रतिवद्धता व्यक्त गरे ।
चुनावलाई लक्षित सम्पूर्ण तयारीहरु पुरा भई सकेको र सामाजिक सद्भावको हिसाबले शान्तिपुर्ण चुनाव सम्पन्न गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । स्थानीय तहको चुनावलाई लक्षित गरि जिल्ला प्रहरी कार्यलयको तर्फबाट सुरक्षाका हिसाबले सम्पूर्ण तयारी पुरा भइसकेको र अझै पनि कहीँ कतै हुल दंगा हुन सक्ने बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख टेक प्रसाद राईले बताए ।
हिंसा हुन नदिनलाई विभिन्न जात जाति संग घुलमिल हुन जरुरी रहेको र सम्भावित जोखिमहरुको पहिचान गरि जोखिमको सम्बोधन गरि पहिलो तहको स्थानीय निर्वाचनबाट धेरै कुराको सिकाई भई बाँकेमा पनि हिंसा रहित स्थानीय निर्वाचन सम्पन्न गर्ने सहभागी विभिन्न क्षेत्रका प्रमुखहरुले प्रतिबद्घता गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, विभिन्न पार्टीका अध्यक्ष,पत्रकार महासंघ, मानवअधिकारकर्मी, अधिवक्ताहरुको उपस्थिति
थियो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४     12:37:58 PM  |