कोहलपुर, २१ बैशाख / बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय समुदायको आयआर्जनमा बृद्धि गर्न १५ दिने मुडा बुन्ने तालिम शुरु भएको छ । समुदायका विपन्न तथा आदिवासी, दलित समुदायलाई लक्षित गरि स्वरोजगार बनाउन देउराली हरियाली मध्यवर्ती
क्षेत्र उपभोक्ता समिति अन्तरगतका ६ वटा समूहका ३० जना ब्यक्तिहरुलाई तालिम दिइन लागिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जको आर्थिक सहयोग तथा देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आयोजनामा भएको तालिमले स्थानीय स्तरमा रहेको कच्चा पदार्थको सदुपयोग र समुदायको आर्थिक बृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
बाँस र बेतवाँसबाट निर्माण हुने मुडा तालिममा रारा डाँफे, नव प्रतिभा, गोठेरी, शक्तिनगर, विकास नगर, मुक्तीनगर मध्यवर्ती उपभोक्ता समुहका उपभोक्ताको सहभागिता रहेको छ ।
नवप्रतिभा मध्यवर्ती उपभोक्ता समुहको अध्यक्ष धनमाया विष्टको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सचिव लोकेन्द्र खत्री, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्चालका अध्यक्ष कृष्णलाल चौधरी लगाएतले धारणा राखेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २१, २०७४