बर्दिया, १९ बैशाख / बर्दियामा दर्ता विना नै औषधि पसल धमाधम खुलेको पाइएको छ । दर्ता नै नगरि औषधि पसलहरुले खुलेआम औषधि विक्री वितरण गरिरहेका छन् । औषधि व्यवस्था विभाग क्षेत्रिय कार्यालय नेपालगंजले यसैसाता गरेको अनुगमनका क्रममा केही औषधि पसलहरु दर्ता बिना नै संचालन भएको पाइएको हो ।
कार्यालयले जिल्ला सदरमुकाम गुलरिया, बासगढी, भुरिगाउँ, ताराताल, बग्नाहा, राजापुर, ठाकुरद्धारा र मगरागढीमा खुलेका औषधि पसलको अनुगमन गरेको थियो ।
अनुगमन गरिएका मध्ये करिव एक दर्जन औषधि पसल दर्ता नै नगरी अवैधानिक रुपमा संचालन भइरहेका छन् । दर्ता नै नगरी संचालनमा आएका औषधि पसललाई तत्कालै बन्द गर्न र छिटो भन्दा छिटो दर्ता प्रकृयामा आउन निर्देशन दिइएको औषधि व्यस्थापन विभाग क्षेत्रिय कार्यालय नेपालगंजका फार्मेसी निरिक्षक प्रविण तिमिल्सेनाले जानकारी दिए । अवैधानिक रुपमा खुलेका औषधि पसलहरुलाई कानुनी दायरामा ल्याउन कार्यालयले अनुगमन कार्यलाई तीव्र्रता दिएको उनले बताए ।
अनुगमनका क्रममा केही औषधि पसल आधिकारीक व्यवसायी नरहेको र गैर व्यक्तिबाट औषधि विक्री वितरण भइरहेको पाइएकोले ती व्यवसायीलाई तीन दिन भित्र कारण खुलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको फार्मेसी निरिक्षक तिमिल्सेनाले जानकारी दिए । केही औषधि पसलमा म्याद गुज्रेका औषधिसँगै अन्य औषधि पनि राखिएको, मूल्य समायोजन भएका औषधिहरुलाई बढी मूल्यमा विक्रि वितरण गरिएको पाइएकोले त्यस्ता औषधि जफत गरि कारवाही प्रकृया अघि बढाइएको कार्यालयले जनाएको छ ।
यसैगरी लागू तथा मनोद्धिपक औषधिको संचय तथा भण्डारण नियमसंगत भएको नपाइएकोले आवशयक रेकर्डको नमुनासहित सुधारका लागि निर्देशन दिइएको बताइएको छ । पसलेले विलमा औषधि व्यवस्था विभागको दर्ता नं, व्याज नं र औषधिको म्याद नाध्ने मिति अनिवार्य रुपमा राख्न निर्देशन दिइएको फार्मेसी निरिक्षक प्रविण तिमिल्सेनाले बताए । औषधि सेवन र खरिद विक्रि मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले नियमसंगत रुपमा व्यवसाय संचालन गर्न अनुरोध गरिएको बताइएको छ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४