18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

भेरी–कर्णालीबाट २७ हजारले परीक्षा दिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ९, २०७४  

कक्षा १२ को परीक्षाको तयारी पूरा

कोहलपुर, ९ बैशाख   / १० बैशाखबाट शुरु हुने कक्षा १२ को वार्षिक परीक्षामा भेरी र कर्णाली अञ्चलबाट २७ हजार ९७ जना विद्यार्थी सहभागी हुने भएका छन् । भेरी र कर्णालीका १० जिल्लाबाट १५ हजार ५५६ जना नियमित र ११ हजार ५४१ जना आंशिक परीक्षार्थी सहभागी हुनेछन् । परीक्षामा २८१ विद्यालयका विद्यार्थीहरु सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका प्रमुख गिरमान थापाले जानकारी दिए ।
सबैभन्दा बढी परीक्षार्थी नियमिततर्फ तीन हजार ७ सय २७ जना परीक्षार्थी बाँकेमा रहेका छन् भने आंशिकतर्फ दुई हजार ८ सय सुर्खेतमा रहेका छन् ।
त्यस्तै सबैभन्दा कम परीक्षार्थी डोल्पामा रहेका छन् । नियमितर्फ २३९ र आंशिकतर्फ ६६ जना परीक्षार्थी डोल्पाका छन् ।
यस क्षेत्रमा ८४ परीक्षा केन्द्र रहेका छन् । बाँकेमा १७, बर्दियामा १२, सुर्खेत १४, दैलेख १०, जाजरकोट ८, डोल्पा २, जुम्ला ४, कालिकोट ९, मुगु ५ र हुम्लामा ३ वटा परीक्षा केन्द्र तोकिएको  छ ।
६ महिला केन्द्राध्यक्ष ८४ जना केन्द्राध्यक्ष मध्ये ६ जना महिला केन्द्राध्यक्ष रहेका छन् । बाँकेबाट ४ र सुर्खेतबाट २ जना महिला केन्द्राध्यक्ष छन् भने ७८ जना पुरुष केन्द्राध्यक्ष रहेका छन् । परीक्षालाई मर्यादित र सफल रुपमा सञ्चालन गर्ने प्रत्येक जिल्लाका एक–एक जना केन्द्राध्यक्षलाई पुरस्कारको व्यवस्था समेत गरिएको कोहलपुर शाखा प्रमुख गिरमान थापाले बताए ।
दश कैदीबन्दीले परीक्षा दिने कैदीबन्दीहरुका लागि कारागारबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । बर्दियाका ८, बाँकेका १ र सुर्खेतका १ जना कैदीबन्दी गरी १० जनाले यस वर्ष परीक्षामा सहभागिता  जनाउनेछन् । उनीहरुका लागि कारागार नजिक रहेको परीक्षा केन्द्रका केन्द्राध्यक्ष, प्रहरी लगायतको रोहबरमा प्रश्नपत्र वितरण र उत्तरपुस्तिका लिईने व्यवस्था मिलाइएको शाखा कार्यालय कोहलपुरले जनाएको  छ ।
मर्यादा विपरित कार्य गरे कारबाही परीक्षाको मर्यादा विपरित कार्य गर्ने जो सुकैलाई पनि कारबाही हुने कार्यालयले जनाएको छ । ६ महिना कैद वा एक लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रमुख थापाले जानकारी दिए । विभिन्न वर्षहरुका तुलनामा यस वर्ष यस क्षेत्रका परीक्षा मर्यादित हुने उनले विश्वास व्यक्त गरेका छन् ।
तयारी पूरा  राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुरले परीक्षाको तयारी पूरा भएको जनाएको छ । प्रश्नपत्रहरु परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा सुरक्षित राखिएको र उत्तरपुस्तिकाहरु परीक्षा केन्द्रमा पुगिसकेको प्रमुख गिरमान थापाको भनाई छ । यसवर्ष अनुगमनमा राष्ट्रिय परीक्षा बोर्ड, जिल्ला परीक्षा समन्वय समिति, जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु लगायतको संयुक्त टोली रहेको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ९, २०७४     11:34:57 AM  |