27 September 2021  |   सोमवार, अशोज ११, २०७८

प्रधानमन्त्रीद्वारा उपलब्धि सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४  

काठमाडौ  २ बैशाख  / प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले गरेको ५३ वटा उल्लेख्य उपलब्धि सार्वजनिक गर्नुभएको छ ।नयाँ वर्षको अवसर पारेर शुक्रबार प्रधानमन्त्री सचिवालयले सार्वजनिक गरेको काममा लोडसेडिङ हटाउनुलाई प्रमुखतासाथ उल्लेख गरेको छ । सूचीको पहिलो नम्बरमा भने नयाँ संविधान कार्यान्वयनलाई उल्लेख गरिएको छ । नयाँ संविधानअनुसार बनेका ऐन÷कानुनले संविधान कार्यान्वयन फराकिलो बनाएको उपलब्धि सूचीमा उल्लेख छ ।

‘वर्तमान सरकार गठन भएपछि संविधानको स्वीकार्यता फराकिलो बनाई संविधान कार्यान्वयन, राज्य पुनःसंरचना, संक्रमणकाल व्यवस्थापन र भूकम्पपछिको पुनर्निर्माण वर्तमान सरकारको प्रमुख ध्येय तय गरी मुलुकको आर्थिक समृद्धिलाई गति दिने प्राथमिकतासमेत निर्धारण गर्‍यो’, उपलब्धिको पहिलो नम्बरमा भनिएको छ, ‘यसका लागि सरकारले राजनीतिक र प्रशासनिक संयन्त्रलाई त्यसतर्फ सम्पूर्ण रूपमा परिचालन गर्दै दीर्घकालीन रूपमा मुलुकको शासन व्यवस्था र विकासलाई प्रभावित पार्ने काम भएका छन् भने तत्कालमा जनताका रोजीरोटी र सेवा–सुविधामा पनि बढोत्तरी ल्याउनेतर्फ कोसेढुंगा सावित हुने केही काम भएका छन् ।’

प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्माणलाई पनि मुलुक परिवर्तनको महत्ववपूर्ण कामका रूपमा उल्लेख गर्नुभएको छ । उहाँले सिंहदरबारमा रहेको अधिकारलाई गाउँमा पुर्‍याउने महत्ववपूर्ण कामले जनता थप बलियो भएको पनि उल्लेख गर्नुभएको छ । त्यस्तै, उज्यालो नेपाल अभियानअन्तर्गत लोडसेडिङ अन्त्य, उच्च आर्थिक वृद्धि, ठूला जलाशययुक्त आयोजना निर्माण, वैदेशिक रोजगार म्यादी जीवन बिमालगायतलाई पनि प्रधानमन्त्रीको सचिवालयले उपलब्धिको विवरणको रूपमा उल्लेख गरेको छ ।

२४ वर्षयताकै उच्च आर्थिक वृद्धिलाई पनि सरकारको मुख्य उपलब्धिका रूपमा समेटिएको छ । ‘मुलुकका आर्थिक परिसूचक सकारात्मक दिशामा अगाडि बढायौं’, दस्ताबेजमा भनिएको छ, ‘२४ वर्षयताकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल हुनु पनि वर्तमान सरकारको एउटा महत्ववपूर्ण उपलब्धि हो ।’ प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा पनि आफ्नो सरकारले व्यापक सुधार गरेको उल्लेख गर्दै निजी फाइदा हासिल गर्ने केही स्वास्थ्यकर्मीको प्रवृत्तिलाई रोक्न सरकारसँग करार गरेको समयभित्र निजी क्लिनिक वा अस्पतालमा काम गर्न नपाउने व्यवस्था गरेबाट सर्वसाधारण जनताले पाउने स्वास्थ्य सुविधामा बढोत्तरी भएको जनाएको छ ।

त्यस्तै, संविधान कार्यान्वयन गर्नेगरी गठन भएको भाषा आयोगलाई पनि सरकारले उपलब्धिका रूपमा उल्लेख गरेको छ । उच्च अदालत गठन, भूकम्पपीडित र बाढीपीडितलाई राहत, सत्यनिरुपण तथा मेलमिलाप आयोगको म्याद थपलाई पनि उपलब्धिमा उल्लेख गरिएको छ । मेलम्ची खानेपानी आयोजना दसैंअगाडि नै सम्पन्न हुने गरी काम अघि बढ्न, विद्युत्का महत्ववपूर्ण आयोजना छिट्टै सम्पन्न हुने अवस्थामा पुर्‍याउनुलाई पनि उलब्धिमा समेटिएको छ ।

फास्ट ट्र्याक आयोजना नेपाल आफैंले निर्माण गर्ने निर्णय गर्नु, विभिन्न कारणले रोकिएको तराई मधेस क्षेत्रको आर्थिक समृद्धिको महत्ववपूर्ण पूर्वाधारका रूपमा रहेको बहुप्रतीक्षित हुलाकी मार्गको निर्माण कार्य अत्यन्तै तीव्र गतिमा अघि बढाइएकोलाई पनि सरकारको महत्ववपूर्ण उपलब्धिमा उल्लेख गरिएको छ । किसान आयोग गठन, भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न बसोवास आयोग गठन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धिलगायतलाई पनि सरकारले उपलब्धिमा समेटेको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४     2:56:01 PM  |