29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

वन्यजन्तु सप्ताह शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४  

कोहलपुर, २  / बाँके राष्ट्रिय निकुञ्जले २२ औं वन्यजन्तु सप्ताह शुक्रबारदेखि शुरु गरेको छ । नेपालको राष्ट्रिय झण्डा, विभागको झण्डा र बाँके राष्ट्रिय निकुञ्जको झण्डा झण्डोत्तोलन गरेर सप्ताह शुरु गरिएको हो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष गेहेन्द्रकुमार खड्का, बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन र गोरखदल गणका निमित्त गणपती डिल्लीराम ढकालले झण्डोत्तोलन गरेका थिए । साथै नयाँ वर्र्ष २०७४ को शुभकामना आदानप्रदान तथा वन्यजन्तु सप्ताहको कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।
सप्ताहका बारेमा जानकारी दिँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जापुनले वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने र समुदायलाई संरक्षणमा सहभागी गराउने उद्देश्यले सप्ताह मनाउन थालिएको बताए् । उनले वन्यजन्तुको संख्या लोप हुँदै गएको अवस्थामा सप्ताहले वन्यजन्तुहरुको चोरी शिकार नियन्त्रण गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
‘वन्यजन्तु संरक्षणका निम्ती चुनौती धेरै छन्’ उनले भने ‘समुदाय पनि वन्यजन्तु संरक्षणमा सहभागी होऊन् भन्ने उद्देश्यले सप्ताह मनाउने गरिएको हो ।’ उनले निकुञ्जमा तारबार गर्ने, युवाहरुलाई स्वरोजगारका तालिमहरु र सुख्खा निकुञ्ज भएकाले वन्यजन्तुका लागि पानीपोखरीहरु निर्माण गरिएको बताए ।
कार्यक्रममा मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष गेहेन्द्रकुमार खड्काले वन्यजन्तु संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको बताए । समुदाय स्तरबाट नै वन्यजन्तुको संरक्षण गर्नका लागि समुदायमा जनचेतना फैलाउन जरुरी रहेको धारणा व्यक्त गरे ।
यसवर्ष ‘युवा अग्रसरता ः संरक्षण र सम्बृद्धिको सुनिश्चितता’ भन्ने नाराका साथ शुरु भएको सप्ताह बैशाख ७ गते सम्पन्न हुनेछ । हरेक वर्ष झैं यसवर्ष पनि बाँके निकुञ्जले वन्यजन्तु सप्ताह शुरु गरेको हो । निकुञ्जले ७ गतेभित्र विभिन्न ठाउँमा अन्तरक्रिया, खेलकुद, सम्मान, राहत वितरण लगायतका कार्यहरु गर्नेछ ।
यसैबीच बर्दिया निकुञ्जले पनि वन्यजन्तु संरक्षण सम्बन्धी विविध जनजेतनामुलक कार्यक्रमका साथ वन्यजन्तु सप्ताह सुरु भएको छ । एक साता सम्म संचालन हुने वन्यजन्तु सप्ताहको पहिलो दिन शुक्रबार प्रदेश नं ५ तुल्सीपुर उच्च अदालतका मुख्य न्यायधिश बमकुमार श्रेष्ठले निकुञ्ज परिसरमा झण्डोतोलन गरि वन्यजन्तु सप्ताहको सुरुवात गरेको निकुञ्जले जनाएको छ । वन्यजन्तु सप्ताहमा निकुञ्ज कर्मचारी, चोरी शिकार नियन्त्रण युवा परीचालन अभियानका युवा, आमा समुहका महिला, स्थानीय विद्यालयका वातावरण समुहका विद्यार्थी लगाएत मध्यवर्ती क्षेत्रका संरक्षणप्रेमीहरुको सहभागिता रहनेछ ।

प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४     12:34:57 PM  |