20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेमा मनाइयो उपभोक्ता अधिकार दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३  

कोहलपुर, ३ चैत्र / विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बाँकेमा बुधबार विभिन्न कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेको आयोजनामा उपभोक्ता जागरण कार्यक्रम गरी दिवस मनाइएको हो ।
सोही अवसरमा अवसरमा प्रभातफेरी समेत गरिएको थियो । जिल्ला प्रशासन कार्यालयबाट शुरु गरिएको प्रभातफेरी त्रिभुवन चोक, बिपीचोक, गणेशमान चोक, चारवाहिनी रोड हुदैं पुनः कार्यालयमा आइ टुङ्गिएको थियो ।
जागरण कार्यक्रममा बोल्दै अधिवक्ता बिश्वजीत तिवारी र पुनरावेदन उच्च अदालत बार, नेपालगन्जका अध्यक्ष बलबहादुर चन्दले उपभोक्ताहरुले सरकारी निकायको मात्र मुख नताकेर आफै सचेत हुनुपर्ने धारणा राखे । उपभोक्ता हित संरक्षण मञ्च, बाँकेका अध्यक्ष बसन्त गौतमले उपभोक्ताले पाउने बस्तु तथा सेवाले कसैलाई असर पारेको खण्डमा त्यसको सुनुवाई तथा क्षतिपूर्तिको ब्यवस्था हुनुपर्नेमा जोड दिए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले गलत गर्ने ब्यवसायीलाई कारवाहीको दायरामा ल्याउन आफु तयार रहेको बताएका छन् ।
उपभोक्ताको स्वास्थ्यलाई सुरक्षित राख्नु आफुहरुको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बस्तु तथा सेवाको गुणस्तरीयता र सहजताका लागि नेपाल सरकारले थुप्रै ऐन कानूनहरुको ब्यवस्था गरेको जानकारी गराए ।
अमेरिकी राष्ट्रपति जे. एफ. केनेडीले पहिलो पटक सन १९६२ को मार्च १५ मा उपभोक्ताको अधिकारलाई सार्वजनिक रुपमा घोषणा गरेपश्चात यस दिनलाई दिवसको रुपमा विश्वभर मनाइन थालिएको हो । नेपालमा उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएपछि दिवस मनाउन थालिएको हो । यो ऐनको दफा ६ मा वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने हरेक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र ३, २०७३     12:28:19 PM  |