कोहलपुर, २१ फागुन / जंगली हात्तीको आक्रमणमा परेर बर्दियामा एक जनाको ज्यान गएको छ । मंगलबार राती गाउँ पसेको हात्ती धपाउन गएको बेला बबई नगरपालिका ३ कर्मलाका १८ वर्षिय युवक विजय नेपालीको हात्तीको आक्रमणमा परेर ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
बस्तीमा हात्ती पसेको थाहा पाएपछि गाउँलेहरु हात्ती धपाउन बाहिर निस्केका थिए । हात्ती भाग्नुको साटो बस्ती तर्फ आउन थालेपछि भागदौड मच्चिएको थियो । भाग्ने क्रममा मसुरो बारीमा लडेपछि नेपालीलाई हात्तीले आक्रमण गरेको थियो । युवकको मृत्यु भइसक्दा पनि हात्तीले उक्त स्थान छाडेको थिएन । तत्काल घटनास्थल पुगेको नेपाल प्रहरी र नेपाली सेनाको टोलीले हात्ती धपाउन धेरैपटक हवाइफायर गरेपछि मात्र हात्ती निकुञ्ज पसेको थियो । उक्त हात्तीले हाल सम्म ६ जनाको ज्यान लिइसकेको बताइएको छ । उक्त हात्ती प्रायः निकुञ्ज छेउछाउमै रहने गरेको स्थानीयको भनाई छ । धरै मानिसको ज्यान लिइसक्दा पनि निकुञ्जले उक्त हात्तीलाई निकुञ्ज भित्र धपाउने प्रयास नगरेको भन्दै स्थानियबासी आक्रोशित भएका छन् ।
हात्तीले मानवीय क्षति गरेको भन्दै उचित क्षतिपूर्तिको माग सहित हात्ती पीडित गाउँलेहरु बुधबार पूर्व पश्चिम महेन्द्र राजमार्ग करिव ५ घण्टा अवरुद्ध गरेका थिए । राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो । बिहान ८ बजे देखि दिउँसो करिब १२ बजे सम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएपछि सयौं गाडीमा सवार हजारौं यात्रुहरु बाटोमा अलपत्र परेका थिए । वन्यजन्तु निकुञ्ज बाहिर आउन नदिन निकुञ्ज प्रशासनले उचित कदम नचालेको भन्दै स्थानीयबासीले निकुञ्ज विरुद्ध नाराबाजी गरेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज र पीडित पक्षबीच पीडित परिवारलाई तत्काल पाँच लाख रुपैया दिने र थप पाँच लाखका लागि पहल गर्ने, उक्त हात्तीलाई एक महिना भित्र नियन्त्रण गर्ने र हात्तीले भत्काएका घरहरु पुनर्निर्माण गर्न निकुञ्जले पहल गर्ने सहमति भएपछि राजमार्ग खुला गरिएको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २६, २०७३