20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मनाइयो नारी दिवस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २६, २०७३  

कोहलपुर, २४  फागुन  / १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस बाँकेमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बाँकेमा रहेका विभिन्न संघसंस्थाले प्रभातफेरि, विभिन्न प्रतियोगीता गरेर दिवस मनाएका हुन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नामले पनि यो दिवस मनाउने गरिएको छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो ।
नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग यो दिवस मनाउने गरेका छन् । नेपालमा यसवर्ष ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः सन् २०३० सम्म बराबरी पाइला’ नाराका साथ मनाउन लागिएको दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘महिला सम्मानको आधार ः सीपयुक्त हात र स्वरोजगार’ भन्ने छ ।
भलिबल प्रतियोगीता १०७ औं नारी दिवसको अवसरमा क्रिसा बाँकेले कोहलपुरमा महिला शिक्षक भलिबल प्रतियोगीता संचालन गरेको छ । ग्रिनपिस मावि कोहलपुरमा भएको प्रतियोगीतामा नोबेल इमी स्कुल प्रथम भएको  छ । कोहलपुर लिटिल एन्जल्स द्वितीय र मेरी माउण्ड एकेडेमी टिटिहिरिया तृतीय भएको छ । प्रतियोगीतामा १३ विद्यालय र एक सामाजिक संस्थाको सहभागिता थियो ।
नेपाल भलिबल संघ केन्द्रीय सदस्य रिता कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिपक जिएम, विभिन्न विद्यालयका खेल शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको क्रिसा सचिव डाँगीले जानकारी दिए ।
क्रिसा अध्यक्ष दिनेश सिग्देलको सभापतित्वमा भएको प्रतियोगीताको संयोजक ग्रिनपिस मावि व्यवस्थापन समिति अध्यक्ष आरती पौड्याल रहेकी थिइन् ।
यस्तै नारी दिवसको अवसरमा नेपालगञ्जमा आयोजित पत्रकार महिला र अधिकारकर्मी महिलाबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकार महिला बिजयी भएका छन् । नेपालगन्ज रंगशालामा सम्पन्न प्रतियोगितामा पत्रकार महिलाले २५–१८, ११–२५, २६–२४ को सेटले अधिकारकर्मी महिलालाई हराउँदै जित निकाल्न सफल भएका हुन् ।

क्रियाशिल पत्रकार महिला बाँके, संचारिका समूह क्षेत्रीय समिति र लैंगिक हिंसा नियन्त्रण जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको समनव्य नेपाल पत्रकार महासंघ बाँकेले गरेको थियो । हस्ताक्षर संकलन ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुर महिला उपसमितिको आयोजनामा बुधबार वृहत्त ¥याली, महिला हिंसा विरुद्धको हस्ताक्षर अभियान, हाजिरीजवाफ प्रतियोगीता लगायत कार्यक्रम गरेको छ । विद्युतरोडबाट शुरु भएको प्रभातफेरि कोहलपुर चौराहा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीपछि महिला हिंसा विरुद्धको हस्ताक्षर संकलन अभियान संचालन गरिएको थियो । त्यसतै कोहलपुर नगरपालिकाका १३ वटै वडाका ३÷३ जना महिलाहरुको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरकी महिला उप समिति संयोजक सुमित्रा न्यौपानेले जानकारी दिइन् ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २६, २०७३     12:58:15 PM  |