13 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

स्ववियूमा मिश्रित परिणाम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २०, २०७३  

कोहलपुर, २० फागुन / बाँकेका चार वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दुई क्याम्पसमा नेपाल विद्यार्थी संघले जितेको छ भने दुई क्याम्पस अनेरास्ववियूले जितेको छ । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरमा अनेरास्ववियुका दिनेश केसीको प्यानल विजयी भएको छ । बुधबार अबेर राती सम्पन्न भएको मतगणना अनुसार केसीले १७६ मत प्राप्त गरि अध्यक्षमा बिजयी भएका हुन् । केसीका निकटतम प्रतिद्वन्द्वी संयुक्त अखिल
(क्रान्तिकारी) का राजेन्द्र विष्ट १३४ मत ल्याएर पराजित भए । नेविसंघका उम्मेदवार कमल बहादुर शाहीले ४७ र स्वतन्त्र उम्मेदवार जनक लम्सालले २३ मत प्राप्त गरेका थिए ।
सचिवमा टेकलाल केसी, कोषाध्यक्षमा कालिबहादुर डाँगी विजयी भएका छन् । सदस्यहरुमा गणेश बहादुर खड्का, गिता कुमारि सुनार, वालरिषी पाण्डे, माधव अधिकारी, प्रदिप तिमिल्सेना विजयी भए । उनीहरु पनि सबै दिनेश प्यानलकै हुन् । निर्वाचनमा अनेरास्ववियू र अखिल छैठौंले समिकरण गरेका थिए ।
नेपालगन्ज नर्सिङ्ग क्याम्पसमा भएको निर्वाचनबाट सभापति पदमा अनेरास्ववियुकी शर्मिला थापा विजयी भइन् । उनले ५८ मत प्राप्त गरेकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेविसंघकी सभापति उम्मेदवार सुष्मिता आचार्यले ५५ मत प्राप्त गरेर पराजित भइन् । अखिल क्रान्तिकारीकी सिर्जना अधिकारीले ५३ मत प्राप्त गरिन् । त्यस्तै सचिव पदमा अखिल (क्रान्तिकारी) की मनिषा मल्ल विजयी भइन् । उनले ६३ र अनेरास्ववियूका दिक्षा आचार्यले ५८ र नेविसंघका प्रेरणा थापाले ४८ मत प्राप्त गरे ।
कोषाध्यक्षमा अनेरास्ववियूबाट उम्मेदवार बनेकी कविता श्रेष्ठ ६३ मत सहित विजयी भइन् । नर्सिङ्गमा नेविसंघका आकृति पौडेल, अनेरास्ववियुकी पुनम थारु र नेविसंघकी संगीता न्यौपाने बिजयी भएको निर्वाचन अधिकृत अधिकृत तुलसा सुनारले जानकारी दिइन् ।
फत्तेपुर स्थित सिद्धेश्वर बहुमुखी क्याम्पस नेविसंघकी चित्रकला पुन सभापति पदमा विजयी भएकी छन् । बाँकेको खजुरामा रहेको ज्ञानोदय बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षमा नेविसंघका हिमाल पहाडी विजयी भए । उनी ७८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका नवराज बम ५५ मत प्राप्त गरे । सचिवमा नेविसंघका वीर बहादुर बुढा क्षेत्री विजयी भएका छन् । उनले ७१ मत ल्याएर बिजयी भए । कोषाध्यक्षमा देवी कुमारी सुनार ७७ मत ल्याई विजयी भइन् । सदस्यहरु नेविसंघका इसु शाही, रिमा क्षेत्री र कृष्ण पौडेलले निर्वाचित भएका छन् ।
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा भने विवादका निर्वाचन स्थगित भएको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २०, २०७३     12:11:11 PM  |