27 September 2021  |   सोमवार, अशोज ११, २०७८

बाँकेमा स्ववियू निर्वाचन शान्तिपूर्ण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३  

कोहलपुर, १९ फागुन / त्रिभुवन विश्वविद्यालय अन्तर्गत बाँकेका ४ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन बुधबार शान्तिपुर्ण रुपमा सम्पन्न भएको
छ । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुर, जन सिद्धेस्वर बहुमुखी क्याम्पस फत्तेपुर, नेपालगन्ज नर्सिङ कलेज र ज्ञानोदय बहुमुखी क्याम्पस खजुरामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको हो ।
जनसिद्धेस्वर बहुमुखी क्याम्पस फत्तेपुरमा अनेरास्ववियू र अखिल (क्रान्तिकारी)को सयुक्त प्यानललाई हराउँदै नेपाल विद्यार्थी संघकी चित्रकला पुन अध्यक्षमा विजयी भएकी छन् । पुन ३५ मत प्राप्त गरी विजयी भएकी हुन् भने उनका प्रतिद्वन्द्वी संयुक्त प्यानलका सुर्य विक्रम थापाले ३३ मत प्राप्त गरी पराजित भए ।
ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा नेविसंघ र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानल बिजयी भएको छ । अनेरास्ववियुका नवराज बललाई पराजित गर्दै संयुक्त प्यानलका हिमाल पङाली विजयी भए । पंङाली ७८ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका बल ५५ मत प्राप्त गरी पराजित भए ।
त्यस्तै नेपालगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियूकी शर्मिला थापा ५८ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेविसंघकी सुस्मीता आचार्य ५५ भोट प्राप्त गरी पराजित भइन् । अखिल क्रान्तिकारीकी सृजना अधिकारी ५३ मत प्राप्त गरेकी थिइन् । सचिवमा भने अखिल (क्रान्तिकारी) की मनिषा मल्ल ६३ भोट ल्याँउदै विजयी भइन् । कोषाध्यक्षमा अनेरास्ववियूकी कविता श्रेष्ठ विजयी भइन् ।
यस्तै बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरमा यो समाचार तयार पार्दासम्म समानुपातिकको मतगणना सकिएर प्रत्यक्षतर्फको मतगणना चलिरहेको छ । कुल पाँच सय ३५ मत मध्ये ४ सय १२ प्रत्यक्ष र ४ सय पाँच मत समानुपातिक खसेको निर्वाचन कमिटीले जनाएको छ ।
समानुपातिकतर्फ अनेरास्ववियूले १८६, संयुक्त अखिल (क्रान्तिकारी) ले ११३ र नेबिसंघले ९९ मत प्राप्त गरेको छ ।
८ वर्षपछि भएको स्ववियू निर्वाचनले विद्यार्थीहरुमा रौनकता छाएको छ । विद्यार्थीहरु नेतृत्व छान्न तत्पर देखिन्थे । मतदानमा पनि विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     12:24:13 PM  |