27 September 2021  |   सोमवार, अशोज ११, २०७८

स्वास्थ्य चौकीमा औषधी अभाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २२, २०७३  

रावन विश्वकर्मा
बाँसगढी भदौ २२
औषधी नपाएर अकालमा कसैको ज्यान नजाओस् भनेर सरकारले ३५ प्रकारका औषधीहरु स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । तर बर्दिया जिल्लाका स्वास्थ्य संस्थाहरुमा त्यसको आधा औषधी पनि भेट्न मुस्किल छ । यसले गर्दा निःशुल्क औषधी गाँउगाँउमा पुर्याउने नेपाल सरकारको उदेश्य अधिकांस ठाउँहरुमा कागजमा नै सीमित भएको देखिन्छ ।
स्वास्थ्य संस्थामा औषधी नभए पछि सेवाग्राहीहरुले सेवा त पाएका छैन्न नै स्वास्थ्यकर्मीहरुले पनि सास्ती भोग्नु परेको छ । मोतिपुर स्वास्थ्य चौकीमा औषधी गर्न आएकी सोरहवा गाविसकी आश्मा थारुले ‘छोरीको कानमा घाउ आएको थियो, एउटा मात्र औषधी पाएँ ।’  स्वास्थ्य चौकीमा औषधी अभाव भएपछि अन्य औषधीहरु बाहिर मेडिकलमा किन्नका लागि पठाएको उनले बताइन् ।
मोतिपुर स्वास्थ्य चौकीका प्रमुख सुरेश कुमार रेग्मीले पनि स्वास्थ्य चौकीमा पाईने ३५ प्रकारका औषधी मै पनि दैनिक रुपमा प्रयोग हुने सिटामोल पनि अभाव हुन लागेको बताए । उनले अहिले बाँसगढी नगरपालीकाको साबिक बेलवा र डेउढाकला स्वास्थ्य चौकीबाट केही औषधी सापटी मागेर काम चलाएको बताए ।
उता जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका निमित प्रमुख शुनिल पाण्डेले औषधी ल्याउने प्रक्रियाले गर्दा औषधि वितरण र उपलब्धतामा समस्या भएको बताए । उनले गत बर्ष कै स्टकमा रहेको औषधी नै अहिले सप्लाई गरिरहेको बताए ।
सरकारको कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकीमा ३५, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र जिल्ला अस्पतालमा ७० थरीका औषधि पुग्नुपर्छ र सेवाग्राहीले निःशुल्क पाउने नीति छ ।

प्रकाशित मितिः बुधबार, भदौ २२, २०७३     1:54:07 PM  |