17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

कोहलपुर नगरपालिकाका लेखापालको चरम लापरबाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २, २०७३  

दिनुपर्ने भन्दा ६ लाख बढी भुक्तानी दिइयो

– बढी भुक्तानी भएको रकम फिर्ता गराउँछौंः नगरपालिका कार्यकारी अधिकृत
– जहाँबाट हुन्छ नगरपालिकाले रकम असुल उपर गर्नुपर्छः एमाले प्रतिनिधि
– बढी भुक्तानी भएको रकम लेखापालले तिर्नुपर्छ ः माओवादी प्रतिनिधि

केशव राना
कोहलपुर, भदौ २
कोहलपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७२÷०७३ को बजेट सक्नका लागि हचुवाका भरमा कार्यक्रम बाँडेको कुरा बाहिर आइरहेका बेला नगरपालिकाका लेखापालले चरम लापरबाही गरेको रहस्य खुलेको छ । लेखापाल सरदकुमार बरालले ‘हरित नगर’ को रकममध्ये सिर्जना सामुदायिक वन उपभोक्ता समूहका लागि छुट्याइएको बजेट भन्दा बढी रकम भुक्तानी दिएको रहस्य खुलेको हो । सिर्जना सामुदायिक वनमा हरित उद्यानका लागि कुल बजेट १३ लाख थियो । जसमध्ये कोहलपुर नगरपालिकाले ७ लाख र ६ लाख रुपैंया वन उपभोक्ता समूह आफैले व्यवस्थापन गर्ने सम्झौता भएको थियो । नगरपालिकाले ६ लाख उद्यान र १ लाख तारबारका लागि रकमको सम्झौता गरेको कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए । नगरपालिकाका लेखापालले ७ हजार करकट्टी गरी १२ लाख ९३ हजार भुक्तानी दिएका थिए । बढी रकम भुक्तानी भएको थाहा पाएपछि नगरपालिकाले उपभोक्ता समूहलाई ३ दिनभित्र रकम फिर्ता गर्नुभनि पत्र लेखेको थियो । वनका अध्यक्षले पत्र बुझ्न नमानेपछि वनका सचिवको हातमा पत्र थमाएको स्रोतले बताएको छ । सो पत्र पुनः नगरपालिकाले ‘मिस्टेक’ भएर आएछ भन्दै फिर्ता लगेको स्रोतले जनाएको छ ।

तर, नगरपालिकाका कार्यकारी अधिकृत शर्माले भने आफूलाई पत्र पठाएकोबारे कुनैपनि जानकारी नभएको बताएका छन् । ‘पत्र पठाएको बारे मलाई जानकारी छैन’ उनले भने ‘बढी भुक्तानी भएको रकम फिर्ता आउँछ, छलफल गरेर रकम फिर्ता गराउनेतर्फ लागेका छौं ।’ काम गर्नेबेला त्रुटीहरु हुने बताउँदै उनले भने ‘दुई पक्षबीच छलफल गरेर रकम फिर्ता गराउँछौं ।’ आ.व. २०७२÷०७३ को प्रतिवेदनमा भुलवस निकासा हुन गएको शिर्षकमा सो रकम राखिएको उनले बताए । दिनुपर्ने भन्दा बढी रकम भुक्तानी दिनु नगरपालिकाको चरम लापरबाही भएको एमाले नगर प्रतिनिधि खिलप्रसाद भुषालले बताएका छन् । बुधबार भएको नगरपालिकाको बैठकमा पनि कुरा उठेको बताउँदै उनले भने ‘बढी भुक्तानी भएको रकम नगरपालिकाले जहाँबाट जसरी भएपनि असुल उपर गर्नुपर्छ ।’ यस्तै माओवादी केन्द्रका नगर प्रतिनिधि तेजप्रसाद चापागाईले लापरबाहीबाट बढी भुक्तानी भएको रकम नगरपालिकाका लेखापालले तिर्नुपर्ने धारणा राखेका छन् । आफूहरुलाई यो विषयमा भुक्तानी भएको डेढ महिनापछि मात्रै जानकारी भएको उनले बताए । ‘एउटा व्यक्तिले लगेको रकम होइन, सामाजिक संस्थाले लगेको रकम हो, रकम फिर्ता हुँदैन’ उनले भने ‘मनपरी गर्ने, अहिले सामाजिक संस्थासँग रकम फिर्ता माग्ने कुरा सुहाउँदैन ।’

प्रकाशित मितिः बिहिबार, भदौ २, २०७३     11:41:22 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *