18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

दुई वर्ष बित्यो, अझै त्रिपालकै भर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३  

सुदीप अधिकारी
बर्दिया, साउन ३१
बाढीका कारण विस्थापित भएका गुलरिया नगरपालिका– ५ रामपुर टप्परका गणेशप्रसाद खनालले एकसरो त्रिपालकै भरमा दिन गुजारेको दुई वर्ष बित्यो । २०७१ साउनमा बबई नदीमा आएको बाढीले उनको सर्वस्व लग्यो । बाढीका कारण बेघर भए पछि पुनस्र्थापनको आशमा बसेको पनि यो साउनमा २ वर्ष पुग्यो । तर, उनको परिवार अझै त्रिपालमै ओत लागेर बसेको छ । यो परिवारको बासको अझै कुनै टुंगो नै छैन । बाढीबाट उनी मात्र एक्ला विस्थापित भने होइनन् । २ वर्ष अघि साउनको अन्तिम तिर आएको बबई नदीको बाढीले उनी जस्तै १ सय ६२ घरपरिवारको उठीबास नै भयो । उनीहरुको घर, जग्गा जमिनको नामोनिसान छैन । सरकारले उनीहरुलाई पुनर्वास गर्ने अझै कुनै सुरसारै गरेको छैन । बाढीबाट विस्थापित मध्ये जग्गा भएको तर घर नभएकालाई ५० हजार, घर र जग्गा दुबै नभएकालाई ७५ हजार गरी १ लाख २५ हजार दिने सरकारको निर्णय छ । तर, यो निर्णय भएको २ वर्ष बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । बर्षदिन सम्म पनि पुनस्र्थापन हुन नसकेपछि सरकारले आफूहरुको उचित ब्यवस्थापन गर्ला भन्ने आशमा रहेका यहाँका बाढीपीडित निराश भएका छन् । प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले पुनस्र्थापनाका लागि पटक पटक केन्द्रमा अनुरोध गरेको बताए । उनले भने, ‘केन्द्रको पछिल्लो जानकारी अनुसार प्रधानमन्त्री कार्यालयले शहरी विकास मन्त्रालयलाई अर्थ मन्त्रालयबाट आवश्यक रकम माग गर्नु भन्ने आशयको पत्र लेखेको छ । तर कहिले कार्यान्वय हुने हो पत्तो छैन ।’  बाढीका कारण विस्थापित भएका बानियाभार गाविसका ९८, चेपाङ्गमा २१ र रामपुर टापुमा ४३ घर परिवार कोही अस्थायी शिवीरमै दिन गुजारा गर्दैछन् त कोही एकसरो त्रिपालमा । कोही भने अझै आफन्तको शरणमा छन् । पुनस्र्थापनको आशमा बस्दाबस्दै उनीहरुको आशाको त्यान्द्रो पनि चुँडिनै थाल्यो । बाढीपीडितहरु बिचल्लीमा छन् । गत साउनको बाढीले ३ हजार ६ सय ५० घर बाढीले पूर्णरुपमा क्षति पुर्याएको थियो । त्रिपालमुनी जेनतेन गुजारा गर्दै आएका बाढीपीडितलाई हिजोआज झरी लाग्ना साथ उनीहरुलाई एउटै पिरलो हुन्छ, अब फेरि बाढीले बगाउने हो की ? बबई नदीमा आएको विनाशकारी बाढीका कारण सात्तो उडेका यहाँका बाढी पीडितहरुको दैनिकी कष्टकर बन्दै गएको छ । समयमै सरकारले पुनस्र्थापना नगर्दा उनीहरुलाई दिन रात चैन छैन । राज्यले आफुहरुलाई झुक्याएको पीडितहरुको गुनासो छ । ‘पुनस्र्थापना गर्ने आश त देखायो तर वर्ष दिन नै वित्यो खै हामीलाई ठेगान लगाएको र कती झुक्याएको सरकारले हामीलाई,’ रामपुर टापुमा रहेको शिविरमा बस्दै आएका विस्थापित गणेशप्रसाद खनालले आक्रोशसँगै प्रश्न गरे । विस्थापितहरुको समस्या ज्यूँको त्यूँ छ । त्यतीबेला सामान्य राहतले चित्त बुझाउन बाध्य भएका पीडितहरु अझै त्रिपालमुनी छन् । सरकारी पुनस्र्थापनाको आशमा बस्दाबस्दै ज्यानै जाने हो की भन्ने उनीहरुमा पिरलो छ । उनीहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ । बालबालिका, बृद्ध र सुत्केरीहरुको झनै बेहाल भएको छ ।
२ वर्ष अघिको बाढीबाट यहाँ ३३ जनाले ज्यान गुमाएका थिए । १३ जनाको अझै अत्तोपत्तो छैन । उनीहरु वेपत्ता कै सूचीमा छन् । बाढीबाट यहाँ ४ अर्ब रुपैँया बराबरको भौतिक क्षति भएको थियो । बाढीबाट विस्थापित भएको एक बर्ष वित्दा पनि त्रिपालको सहारमा बस्नु पर्दा निकै कष्ट भएको गुलरिया ५ रामपुर टप्पुकी बाढीपीडित महिला कल्पना विकले सुनाइन् । त्रिपालको ओतमुनी शिविरमा बसेर पुस माघको जाडो, चैत बैशाखको गर्मी झेलेका यहाका बाढीपीडितलाई बर्खायामको झरीले झनै सास्ती बनाएको छ ।
बाढी पीडितहरुलाई पुनस्र्थापना गर्ने कामको जिम्मा लिएको शहरी विकास तथा भवन आवास कम्पनीले आंसिक क्षति भएका घरधुरीलाई घर मर्मतका लागि प्रति घरधुरी ५ हजारको दरले दिने भनेको रकम पनि सबैले पाएका छैनन् । आंशिक क्षति भएका १३ हजार ५ सय १७ घरधुरी मध्ये ८ हजार घरधुरीले मात्र मर्मतका लागि ५ हजारका दरले रकम पाएका छन् । ३ हजार ८ सय ५९ घरघुरी अझै बाँकी छन् । सरकारले घर मर्मतका लागि आवश्यक रकम निकासा नगरेकाले सबै पीडितलाई दिन नसकेको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले जानकारी दिए । यसैगरी शहरी विकास तथा भवन आवास कम्पनी नेपालगंजका शाखा अधिकृत जयराम थारुले मन्त्रालयबाट रकम निकासा नभएकाले पुनस्र्थापनाको काम अगाडि बढ्न नसकेको बताएका छन् ।

प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३     11:35:30 AM  |