26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

नेपालगञ्जमा शुरु भयो चुनावी रन्को

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २७, २०७३  

कोहलपुर, साउन २७
नेपालगञ्ज उद्योग वाणिज्य संघको चुनावी रन्को शुरु भएको छ । संघको चुनाव नजिकिँदै गर्दा व्यापारीहरु प्यानल खडा गरी चुनावी मैदानमा होमिएका छन् ।  यही भाद्र ११ गते वाणिज्य संघको कार्य समितिको निर्वाचन हुने मिति तय भएपछि छुट्टा छुट्टै प्यानल खडा गरी चुनावी प्रचारप्रसारलाई तीव्रता दिइएको छ ।  कोहलपुरका सदस्यता निलम्बन गरिएको भन्दै विरोध गर्दै आइरहेको नेकपा एमाले निकट नेपाल राष्ट्रिय बाणिज्य संघ बाँकेले साउन १५ गते नै आफ्नो प्यानलको घोषणा गरी सकेको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष कपिल प्रसाद अधिकारीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काँग्रेस निकट प्रजातान्त्रीक उद्योगी व्यापारी संघले भने अहिले सम्म उम्मेदवारी घोषणा गरिसकेको छैन । नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि प्रजातान्त्रीक उद्योगी व्यवसायी संघका तर्फबाट सामुदायीक प्रहरी केन्द्र नेपालगन्जका अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गोपाल अधिकारीको नेतृत्वमा मधेसी मोर्चाका दलहरुको संयुक्त सहकार्यमा चुनावी प्रतिष्पर्धामा उत्रिएको छ । अधिकारी नेतृत्वको प्यानलले पनि घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

13987098_1843733382516609_1402198322_o

अर्को समावेशी प्यानलको नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष नन्दलाल वैश्यले नेतृत्व गर्ने भएका छन् । बुधबार नेपालगन्जका पत्रकारहरुसंग समावेशी प्यानलले पत्रकार छलफलको आयोजना गरी कुनै राजनीतिक आस्था बोकेका भन्दा पनि व्यवसायीक विचारका व्यापारीहरुका तर्फबाट आफ्नो उम्मेदवारी रहेको वैश्यले बताए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्यले नेपालगन्ज उद्योग वाणिज्य संघमा रहेका कोहलपुर नगरपालिका भित्र रहेका उद्योगी व्यापारीले नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागी हुन नपाउने बताए । कोहलपुर उद्योग व्यापार संघले एक वर्ष अगाडि महासंघको मान्यता प्राप्त गरिसकेकाले कोहलपुर नगरपालिका भित्रका उद्योगी व्यापारीको सदस्यता निलम्बन हुने उनको भनाइ छ ।
उनले नेपालगन्ज उद्योग वाणिज्य संघको विद्यान २०५३ को धारा ५५ को ग मा व्यवस्था भएको विधानमा व्यवस्था भएको चिज विधान बमोजिम र विधानमा व्यवस्था नभएको कुरा कार्यसमितिको निर्णयले विधान सो सरह हुनेछ, पछि साधारण सभाले अनुमोदन नगरे सम्म र विद्यान संशोधन नभए सम्म भन्ने कुरामा रहेकाले सदस्यता निलम्बन गर्ने कुरा विधान सम्मत रहेको उल्लेख गरे । समावेशी प्यानलले आफूहरुको उम्मेदवारी हुने चाँडै घोषणा हुने जानकारी दिएको छ । व्यापार संघमा राजनीति हुन नहुने भन्दै आफ्नो राजनितिक आस्थालाई संस्थागत कार्यमा जोड्न नहुने भएकाले समावेशी प्यानल व्यवसायी, राजनीतिक, धार्मिक, सांस्कृतीक लगायतले समावेशी रहेको समावेशी प्यानलका इश्वर पोख्रेलले दाबी गरे ।

प्रकाशित मितिः बिहिबार, साउन २७, २०७३     12:16:34 PM  |