5 March 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७

इलाका प्रशासन कोहलपुरबाट छ सय बढीले नागरिकता बनाए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन ७, २०७३  

राम बहादुर रावत
कोहलपुर, साउन ७
इलाका प्रशासन कार्यालय कोहलपुरबाट हालसम्म ६ सय १३ जनाले नागरिकता बनाएका छन् भने ७३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । बाँकेको पूर्वी तथा उत्तरी भेगका खासकुश्मा, कचनापुर, महादेवपुरी, नौबस्ता, चिसापानी, बनकटवा, शम्शेरगञ्ज र कोहलपुर नगरपालिकाका जनजाति, दलित, महिला आदिवासीहरुको सिफारिस हाल सम्म ७० जनाले लिएको इलाका प्रशासन कार्यालय कोहलपुरले जनाएको छ । त्यस्तै १६ वर्ष नपुगेका नबालक परिचयपत्र २९ जनालाई वितरण गरिएको छ । आमाको नागरिकताको प्रतिलिपि लिन आएकी चिसापानी ५ की राजकली बुढाले नागरिकता बनाउन, सामान्य सिफारिस लिन नेपालगञ्ज धाउनुपर्ने बाध्यता टरेको बताइन् । कोहलपुरमै सेवा लिन पाएपछि नेपालगञ्ज जाने समय र खर्चको पनि बचत भएको उनले बताइन् । इलाका प्रशासन कार्यालय कोहलपुरका लागि केही भौतिक सामाग्रीहरुको आवश्यकता परेको भन्दै यस क्षेत्रका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई भौतिक सामाग्रीहरु सहयोग गरिदिन आग्रह गरिएको इलाका प्रशासन कार्यालय कोहलपुरका प्रशासकीय अधिकृत दत्तबहादुर हमालले बताए । त्यस्तै हालसम्म केही सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले भौतिक सामाग्री उपलब्ध गराएको इलाका प्रशासन कार्यालय कोहलपुर नायव सुब्बा धन प्रसाद धितालले बताए । गत जेष्ठ २७ गते देखि आफ्नो काम सुचारु गरेको इलाका प्रशासन कार्यालयमा दिन प्रतिदिन कामको चाप बढ्दै गएको पाइन्छ । हाल इलाका प्रशासन कार्यालय कोहलपुरमा आठ जना कर्मचारी कार्यरत छन् । प्रशासकीय अधिकृत एक, नायवसुब्बा तीन, करार कम्प्युटर एक, सुरक्षा गार्ड एक र कार्यालय सहयोगी दुई जना कार्यरत छन् । त्यस्तै इलाका प्रशासन कार्यालय कोहलपुरबाटै फोटो सहितको मतदाता नामवाली संकलन गर्ने काम पनि भइरहेको छ । इलाका प्रशासन कार्यालय कोहलपुरबाट नागरिकता लिएका नयाँ नागरिकहरुलाई आगामी निर्वाचनमा सहभागी गराउनका लागि सो सेवा उपलब्ध गराइएको छ । साउन ३ गते देखि संचालनमा ल्याइएको फोटो सहितको मतदाता नामावलीमा ७६ जनाको फोटो सहित नाम दर्ता गराइसकिएको फोटो सहितको मतदाता नामावली संकलनमा कार्यरत प्रतिमा पाण्डेले बताइन् । बाँकेको पूर्वी तथा उत्तरी भेगका खासकुश्मा, कचनापुर, महादेवपुरी, नौबस्ता, चिसापानी, बनकटवा, शम्शेरगन्ज र कोहलपुर नगरपालिकाका करिव २ लाख सेवाग्राहीले कोहलपुरबाट सेवा पाएका छन् ।

प्रकाशित मितिः शुक्रबार, साउन ७, २०७३     12:50:46 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *