20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

किन आउँदैन धारामा पानी ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७३  

केशव राना
कोहलपुर, जेठ ३०
आजभोलि कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेको पानीको ठेगान नै हुँदैन । कहिले पानी आउने त कहिले नआउने हुन्छ । आएपनि ट्यांकीमा नचढ्ने समस्या छ । खानेपानी नियमित नहुँदा उपभोक्ताहरु समस्या परेका छन् । ट्यांकीमा पानी नचढ्ने, कहिलेकाँही पानी नै नआउने, आएपनि सानो मात्रामा पानी आउने गरेको उपभोक्ताको गुनासो छ ।
केहीदिन अघि मात्रै कोहलपुरमा देउराली मार्ग टोल सुधार समितिले पानी माग्दै बाल्टी जुलुस गरेको थियो । साथै खानेपानी संस्थामा धर्ना समेत दियो । खानेपानी नियमित नहुँदा कोहलपुरवासी आजित भैसकेका छन् । यो त्यसैको उदाहरण पनि हो । पानी नियमित नहुँदा विरोधका आवाजहरु विस्तारै उठ्न थालेका छन् । यता खानेपानी संस्थाले विभिन्न कारण देखाउँदै खानेपानी नियमित हुन नसकेको जनाएको छ ।
खानेपानीको चोरी
खानेपानी संस्थालाई पानी चोरीको विषय टाउको दुखाई बनेको छ । बेलाबेलामा अनुगमन गरिएपनि प्रभावकारी रुपमा कारबाही गर्न नसक्दा खानेपानीको चोरी नियन्त्रण हुन सकेको छैन । खानेपानी चोर्नेमा समाजका केही प्रतिष्ठित व्यक्ति कहलिएकाहरु पनि रहेकाले संस्थालाई कारबाही गर्न समस्या भएको स्रोतको भनाइ छ ।
पानी चोर्नेमा सरकारी कार्यालय पनि
व्यक्ति मात्रै होइन केही सरकारी कार्यालयहरुले पनि पानी चोर्ने गरेको खानेपानी संस्थाका अध्यक्ष नरबहादुर मल्लले जानकारी दिए । ‘अनुगमनका क्रममा व्यक्तिले मात्रै होइन, सरकारी कार्यालयले पनि पानी चोरेको पाइयो’ उनले भने । तर, नाम भने उनले दिन मानेनन् ।
खानेपानी चोर्नेहरुले मोटर निकालेर खानेपानी चोरी गरिरहेका छन् । अनुगमनका क्रममा भेटिएका चोरी गर्ने केही घरधुरीहरुलाई सचेत गराएपनि धेरै ठाउँमा अझैं पनि खानेपानीको चोरी भैरहेको फेला परेको संस्थाका उपाध्यक्ष तथा अनुगमन उपसमिति संयोजक यमबहादुर रावतले बताए ।
पानीको दुरुपयोग
खानेपानी नियमित नहुनुको अर्को कारण पानीको दुरुपयोग पनि रहेको हो । पानीको चोरीसँगसँगै पानीको दुरुपयोग पनि झन् बढ्दै गएको छ । खानेपानीका लागि वितरण गरिएको पानी करेसाबारीमा लगाउने, खेतबारीमा हाल्ने जस्ता काममा प्रयोग गर्ने गरेका कारण पनि पानी नियमित हुन नसकेको संस्थाका उपाध्यक्ष रावतले बताए । उनले भने ‘संस्थाले वितरण गरेको पानी करेसाबारी, खेतबारीमा लगाएको पाइयो ।’ खानेपानीले सूचना नै निकालेर खानेपानीको दुरुपयोग नगर्न र गरेमा कारबाही गर्ने बताएपनि समस्या भने ज्युँका त्यूँ नै छ । अहिलेसम्म प्रभावकारी रुपमा कारबाहीको प्रक्रिया अघि बढाउन नसकेको अवस्था छ ।
अतिरिक्त जेनेरेटर छैन
स्थापनाकालदेखि संस्थामा भएको जेनेरेटर हालसम्म प्रयोग भैरहेको छ । सो जेनेरेटर बिग्रँदा समस्या हुने गरेको छ । जेनेरेटरको सामान ल्याउनकै लागि महिना दिन लाग्ने गरेको छ । जेनेरेटर बिग्रिएपछि विद्युतको मात्रै भरपर्नुपर्ने हुन्छ । विद्युत पनि अनियमित भएकाले समस्या हुने गरेको अध्यक्ष मल्लले बताए । अतिरिक्त जेनेरेटरको व्यवस्था गर्न सक्ने आर्थिक क्षमता संस्थासँग नरहेको उनले स्पष्ट पारेका छन् । कतिपय अवस्थामा विद्युत भोल्टेजका कारण पम्पहरु पनि जल्ने गरेका छन् ।
चुनाको मात्रा बढी
संस्थाले वितरण गर्ने पानीमा चुनाको मात्रा बढी भएका कारण पनि पानी नियमित हुन सकेको छैन । चुनाले पुराना पाइपहरु जाम गरिदिने र पानी थोरै मात्रामा जाने समस्या रहेको छ । जाम हुने ठाउँमा नयाँ पाइपहरु राख्ने काम भैरहेको संस्थाले जनाएको छ । तर, समस्या समाधान भने हुन सकेको छैन ।
६ मध्ये २ मात्रै पम्प चालू
संस्थासँग भएको ६ वटा पानी तान्ने पम्प मध्ये ४ वटा पम्प थन्किएका छन् । अहिले ५ र ६ नम्बरको पम्प मात्रै सञ्चालनमा रहेको छ । बाँकी पम्पहरु संचालनमा छैनन् । १ नं. को पम्प चुनाको मात्रा बढी भएर, २ नं. को बालुवा धेरै फालेर, ३ नं.को धमिलो भएर र ४ नं. को विद्युत भोल्टेजका कारण पम्प नै जलेका कारण बन्द भएको अध्यक्ष मल्लले बताए । यसरी दुई वटा मात्रै पम्प सञ्चालन हुँदा खानेपानीको ट्यांकीमा पानी भरिन बढी समय लाग्ने गरेको छ ।
निर्माण कम्पनीको लापरबाही
निर्माण कम्पनीले लापरबाही गर्दै विकास निर्माणका काम गर्दा खानेपानीको पाइपमा क्षति पुग्ने गरेको छ । पाइपहरु काटिँदा पानी खेर जाने समस्या रहेको छ । जसका कारण उपभोक्ता माझ पानी पुग्न नसक्ने संस्थाले जनाएको छ ।
कारबाही गरिने
कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी चोर्ने, दुरुपयोग गर्ने, मोटर लगाई पानी तान्ने जस्ता अवैध गतिविधि गर्नेलाई कारबाही गर्ने जनाएको छ । पानी चोर्नेलाई पहिलो पटक ५ हजार जरिवाना सहित मोटर जफत गरिने, दोश्रो पटकमा ७ हजार जरिवाना र त्यसपछि १० हजार जरिवानाका साथै पानी नै बन्द गरिदिने अध्यक्ष मल्लले जानकारी दिए । उनले असार पहिलो साताभित्र नै अनुगमन गर्दै कारबाही गर्ने अभियान सञ्चालन हुने बताएका छन् ।
संस्थामा हाल २ हजार ६ सय उपभोक्ताहरु रहेका छन् । अहिले पानीको माग १२ लाख पुगेको संस्थाको भनाई छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७३     12:21:25 PM  |