फुटबलमा दीपज्योति र साइनिङ्गको विजयी शुरुवात



कोहलपुर, जेठ २७
युथ युनिटी कप–२०१६ महिला फुटबल प्रतियोगितामा साइनिङ स्टार एकेडेमी र दिपज्योती विद्याश्रमले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा साइनिङ स्टारले युनाइटेड एजुकेशनल एकेडेमीलाई ५–शुन्यले हरायो । साइनिङका अञ्जली धामीले ३ र रुपा थापा तथा सरिता थापाले १÷१ गोल गरेका थिए ।
यसैगरी दोस्रो खेलमा कालिका सामुदायिक क्लब बर्दियालाई १–शुन्यले हराउँदै दिपज्योती विद्याश्रम विजयी भयो । दिपज्योतीका निर्मला उपाध्यायले गोल गरिन् । राष्ट्रिय खेलाडी निर्मलाको गोलको मद्धतले दिपज्योतिलाई जितका लागि सहज भयो । दीपज्योति यसअघिको पहिलो संस्करणको बिजेता टोली पनि
हो । यसले यसअघि भएको प्रतियोगीतामा सबै फुटबल टोलीलाई उछिन्दै उपाधि उचाल्न सफल भएको थियो । यसपटक पनि उपाधि उचाल्ने लक्ष्यका साथ दीपज्योतिका महिला खेलाडीहरु मैदानमा उत्रिएको प्रशिक्षक युवराज शाहीले जानकारी दिए ।
राइजिङ आइडल्स, जिल्ला युवा क्लब सञ्जाल बाँके र प्लान इन्टरनेशनलको संयुक्त आयोजनामा बुधबारबाट नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा बाँके जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम् मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरेका थिए ।
बुधबार बिहान ७ बजेका लागि तोकिएको उद्घाटन कार्यक्रम वर्षाका कारण स्थगित भएर दिउँसो ३ बजे गरिएको
थियो । यही जेठ २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा समुह सहभागी भएको प्रतियोगिताका संयोजक अजुन बर्माले जानकारी दिए । खेलमा महिलाको सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७३ जेठ २७ गते बिहीबार