-स्वामी आनन्द अर्हत
ढाडलाई सीधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औंला र चोर औंलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौंं ।
लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकि नरहेपछि विस्तारै श्वास छोडौं । यो दुई मिनेटसम्म लगातार गरौँ ।
त्यसपछि सेकेन्डको गन्तीमा १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । ५ सम्मको गन्तीमा आइपुगेपछि श्वासलाई भित्रै राखौं अनि मनमनै १, २, ३, ४, ५ गन्दै भित्रै श्वास रोकौं । फेरि १, २, ३, ४, ५ गन्दै श्वासलाई बाहिर फालौँ । फेरि मनमनै १, २, ३, ४, ५ गन्दै श्वास बाहिर फालेकै स्थितिमा रहौँ । फेरि १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । फेरि माथि उल्लिखित रुपले यही तरिकाले करिब १५ चोटी यसको अभ्यास गरौं ।
त्यो अभ्यासपछि आइरहेको गइरहेको श्वासलाई महसुस गरी शान्त बसौँ । विचारको आउनेजाने क्रमलाई हस्तक्षेप नगरी निरपेक्ष स्थितिमा ध्यानमा बसौं । यस्तो तीन मिनेटसम्म गर्न सकिन्छ ।
गुञ्जन ध्यान
ढाडलाई सिधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औँला र चोर औँलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौँ । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकी नरहेपछि विस्तारै श्वास छाडौं । यो दुई मिनेटसम्म गर्न सकिन्छ ।
जिब्रोको पूरै माथिको सतहलाई तालुमा हल्का रुपले जोडौँ । विस्तारै ओठहरु बन्द गरी ह… म…को आवाजलाई ४–५ मिटरको दूरीसम्म सुनिने गरी भित्रभित्रै गुञ्जन गरौंं । यस्तो पाँच मिनेट गर्न सकिन्छ ।
यसबाट उठ्ने कम्पनहरु दुई दिशामा प्रवाहित हुन थाल्छन् । ह…म…को तरंग जिब्रोद्वारा मस्तिष्कतिरको दिशामा बहन थाल्छ भने कण्ठबाट तल हृदयतिर पनि बहन थाल्छ । यो अभ्यासको दौरान माथि मस्तिष्कतिर प्रवाहित गुञ्जनका कम्पनहरुले मनलाई शान्त बनाउँछन् भने तल हृदयतिर फैलिने कम्पनले भावनाहरुलाई सन्तुलित बनाउन मद्दत गर्छन् । यो ध्यानको विधि जहाँसुकै जुनसुकै बेला पनि आफ्नो सुविधा अनुसार प्रयोग गर्न सकिन्छ । सुत्नुअघि यो अभ्यास गर्नाले अनिद्राको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
(लेखक ओशो तपोवनका आवसीय ध्यान प्रशिक्षक हुन्)
प्रतिक्रिया दिनुहोस्