‘नो स्टपि·’ क्षेत्रमा यात्रु चढाउँदै झार्दै



केशव राना
कोहलपुर, ९
‘नो स्टपिङ्ग’ क्षेत्र कोहलपुर चौराहामा लामो तथा छोटोदुरीका सवारीसाधन रोकेर यात्रु चढाउने र झार्ने गरेका छन् । ट्राफिक प्रहरीको फितलो व्यवस्थापनका कारण सवारीसाधनहरुले ‘नो स्टपिङ्ग’ क्षेत्रमा गाडी रोकेर यात्रु चढाउने हिम्मत गरेका हुन् ।
गाडी रोक्नै नपाइने चौराहामा लामो तथा छोटो दुरीका सवारीसाधनहरुले गाडी रोकी यात्रु चढाउने गर्दछन् । तर पनि ट्राफिक प्रहरी थाहा नपाए झैं गर्छ । पछिल्लो समय कोहलपुर चौराहामै सवारीसाधन रोकेर यात्रु चढाउने क्रम ब्यापक रुपमा बढेको छ । कोहलपुरलाई व्यवस्थित बनाउने भन्दै वि.स. २०६७ माघ १८ गते चौराहालाई ‘नो स्टपिङ्ग’ क्षेत्र घोषणा गरिएको थियो । ‘नो स्टपिङ्ग’ क्षेत्र घोषणा गरिएपनि ट्राफिक प्रहरीको वेवास्ताका कारण लामो तथा छोटो दुरीका सवारीसाधनहरुले चौराहा वरीपरि गाडी रोकेर यात्रु चढाउने र झार्ने गरेका हुन् ।
घोषणा हुँदा ताका सवारीसाधनमा कडाई गरेपनि अहिले भने ट्राफिक प्रहरी सुस्ताएको छ । चौराहाको पूर्वतर्फ डुडुवा खोलाको पुल, पश्चिममा बसपार्क, दक्षिणमा कोहलपुर न्यूरोड चौक र उत्तरमा मुक्तकमैया वस्ती सम्म सवारी साधन रोक्न नपाइने भएपनि सो क्षेत्रमा गाडी रोकी यात्रुहरु चढाउने, उतार्ने गरिएको छ । ‘नो स्टपिङ्ग’ क्षेत्र घोषणा भएलगत्तै चौराहा व्यवस्थित देखिएपनि अहिले भने अव्यवस्थित हुँदै गइरहेको अवस्था छ । ड्युटीमा बस्ने ट्राफिक प्रहरीले वास्ता नगर्दा सवारी साधनहरुले अटेर गरी चौराहामै गाडी रोकेर यात्रु चढाउने र उतार्ने गरिरहेका छन् ।
आफ्नै अगाडि सवारीसाधन रोकी यात्रु चढाउने र झार्ने गरेपनि ट्राफिक प्रहरी मुकदर्शक जस्तै बनेको छ । चौराहा नजिकै मध्यपश्चिम क्षेत्र पूरै हेर्ने मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरको कार्यालय रहेको छ ।
ट्राफिक प्रहरी कार्यालय नजिकमै ट्राफिक नियम मिचिन्छ भने अन्य क्षेत्रमा झन् ट्राफिक नियम लागू भएको छ भनि विश्वास गर्ने अवस्था नै नरहेको स्थानियको भनाई रहेको छ ।
कोहलपुर चौराहालाई ‘नो स्टपिङ्ग’ क्षेत्र घोषणा गरिएको ५ वर्षभन्दा बढी भइसक्यो तर कार्यान्वयनको पाटो निकै फितलो छ । चौराहामै यात्रुहरु झार्दा र चढाउँदा चौराहाका व्यवसायीहरुको व्यापारमा फाईदा भएपनि चौराहा भने ‘नो स्टपिङ्ग’ क्षेत्र घोषणा हुनुपूर्व जस्तो अव्यवस्थित थियो त्यस्तै हुनेमा दुई मत छैन ।
यता मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका एसपी कमलप्रसाद खरेलले ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन आफू लागिपरेको बताएका छन् । यस विषयमा आफूले बुझ्ने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी रुपमा अगाडि बढाउने उनले बताएका छन् । ट्राफिक प्रहरी प्रमुखका रुपमा नयाँ आएका खरेलले ट्राफिक व्यवस्थापनका लागि यहाँका राजनैतिक दल, सरोकारवाला निकायसँगको छलफललाई तीव्रता दिएको बताए । ‘४–५ दिन जति भयो, म आएको । ट्राफिक प्रहरी एक्लैले ट्राफिक व्यवस्थापन गर्न नसक्ने भएकाले छलफललाई अगाडि बढाएको छु’ उनले भने ‘धैरै चुनौतीहरु छन्, त्यसका बाबजुद् ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास गर्नेछु ।’
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयमा नयाँ प्रमुख आएसँगै ट्राफिक व्यवस्थापन सुध्रिने आशा कोहलपुरवासीले लिएका छन् । एसपी खरेलले आफ्नो छबिलाई कत्तिको प्रस्तुत गर्न सक्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ९ गते मंगलबार