नेपालगन्ज, चैत ६
जिल्लास्तरीय बिद्यालय सुधार योजना बार्षिक अद्यावधिक कार्यशाला गोष्ठि शनिवार नेपालगन्जमा सम्पन्न गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वयमा बाँके युनेस्को क्लबद्धारा बाँके जिल्लामा संचालन गरिएको बिद्यालय सुरक्षा कार्यक्रम र एकिकृत परियोजना अन्तर्गत सो कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।
बाढी, भुकम्प लगायतको विपतको जोखिममा रहेका जिल्लाका बिद्यालय तथा अन्य बिद्यालयमा समेत बिद्यालय सुधार योजना तयार गर्दा वा अद्यावधिक गर्दा त्यसमा बिद्यालय सुरक्षा सम्बन्धि बिषयलाई महत्व दिएर अद्यावधि गर्ने उदेशयका साथ सो गोष्ठि आयोजना गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
गोष्ठिमा बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउद, सहायक जिल्ला शिक्षा अधिकारी राम सुरेश यादव, बिद्यालय निरिक्षकहरु, श्रोत ब्यक्ति र प्रधानाध्यापक गरी २५ जनाको सहभागिता रहेको थियो । गोष्ठिमा सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक विरेन्द्र थापा, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान र कार्यकारी निर्देशक रवि तुलाधर लगायत क्लबका कार्यक्रम संयोजकहरुको सहभागिता रहेको थियो ।
गोष्ठिमा जिल्ला शिक्षा अधिकारी साउद र जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लोक बहादुर शाहीले बिद्यालय सुधार योजना अद्यावधिक सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।
बाँके जिल्लाका राप्ती नदी नजिकका बिद्यालय लगायत अन्य विभिन्न खोलानाला नजिकका बिद्यालय बाढीको बढी जोखिममा रहेको जनाउँदै जिल्ला शिक्षा अधिकारी साउदले बिद्यालय सुधार योजना निर्माण गर्दा वा अद्यावधिक गर्दा सुरक्षालाई बिशेष प्राथमिकता दिएर बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यशालामा सहभागी बिद्यालय निरिक्षक र श्रोत ब्यक्तिहरुले आ आफ्नो क्षेत्र अन्तर्गतका बिद्यालयहरुमा बिद्यालयस्तरीय कार्यशालाको आयोजना गरी बिद्यालय सुधार योजना अद्यावधिक गर्नेछन् । सो अद्यावधिक गर्दा बिद्यालय सुरक्षालाई प्राथमिकता दिइने छ ।
विपतको जोखिममा रहेका बाँके जिल्लाका ४ वटा गाविसका १० वटा विद्यालयमा तथा नेपालगन्ज उपमहानगरपालिकाका १७ वटा वडाका १९ वटा बिद्यालयमा बाँके युनेस्को क्लबले बिद्यालय सुरक्षा कार्यक्रम संचालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्