कोहलपुर बसपार्क कालोपत्रे हुने



केशव राना
कोहलपुर, चैत्र ३
वर्षौदेखि योजना बन्दै बीचमै तुहिने गरेको कोहलपुर बसपार्क कालोपत्रे गर्ने सपना अब भने पूरा हुने सम्भावना देखिएको छ । छिनभरकै वर्षाले हिलाम्य हुने बसपार्कको स्वरुप परिवर्तन हुने लगभग पक्का जस्तै भएको छ । कोहलपुर बसपार्क कालोपत्रे हुनेभएपछि यात्रुहरुलाई सहज हुने विश्वास लिइएको छ । अब यात्रुले पानी परेका बेला हिलोमा हिँड्नुपर्ने बाध्यता टर्नेछ । बसपार्क कालोपत्रेको अगुवाई कोहलपुर नगरविकास समिति गर्ने भएको छ । बसपार्क कालोपत्रे कसले गर्ने विषयमा अन्यौल भएका बेला कोहलपुर नगरविकासले आफ्नै अगुवाइमा कालोपत्रे गर्ने जनाएपछि सम्भावना अझ बलियो बन्दै गएको हो ।
कोहलपुर नगरविकास समिति अध्यक्ष लक्ष्मणराज पौडेलले बसपार्क कालोपत्रे नगरविकासले नै गर्ने प्रतिवद्धता जनाएका छन् । उनले कालोपत्रेका लागि ५ करोड बजेट नगरविकासले छुट्याउने बताउँदै त्यसबाहेकका अन्य खर्च संघसंस्थाको सहयोग लिइने बताए । ‘अन्य विकास निर्माणका कामहरु पनि भैरहेका छन्’ उनले भने ‘नगरविकासले बसपार्क कालोपत्रे गर्नका लागि बजेट छुट्याउँछ ।’
बाँके क्षेत्र नं. १ का सांसद देवराज भारले कोहलपुर नगरविकासले ‘पब्लिक पार्टनरशिप’ का आधारमा कालोपत्रको कामलाई अगाडि बढाउनुपर्ने धारणा राखे । ‘पब्लिक पार्टनरसिपमा केही रकम पब्लिक र केही नगरविकासको हुने भएकाले नगरविकासलाई काम गर्न सहज हुन्छ’ उनले भने ‘पब्लिक पार्टनरसिपमा काम गर्दा उदाहरणीय पनि हुन्छ ।’
यस्तै कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत मिमबहादुर शाहीले नगरपालिकाले पनि कालोपत्रे गर्नका लागि सक्दो सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । स्रोत खोजी गर्ने क्रममा नगरपालिका सदैव तयार रहेको उनले उल्लेख गरे ।
कोहलपुर नगरविकासका सदस्य सचिव तथा शहरी विकास तथा भवन डिभिजन विभाग बाँके प्रमुख रमेश थपलियाले कोहलपुर बसपार्कलाई सुन्दर र सुविधा सम्पन्न बनाउन हरसम्भव प्रयास हुने बताएका छन् ।
कोहलपुर नगरविकासको अगुवाईमा बसपार्कको कालोपत्रे गर्ने कार्य स्वागतयोग्य रहेको कोहलपुर सुधार समाज सचिव हेमविक्रम जिसीले बताए ।
कोहलपुर बसपार्क बजार सुधार समितिले मंगलबार गरेको बसपार्कको स्तरोन्नती गर्ने विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले बसपार्क कालोपत्रे गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बसपार्क बजार सुधार समिति अध्यक्ष कृष्णबहादुर रानाभाटको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर सुधार समाज अध्यक्ष टेकराज आचार्य, एमाले बाँके अध्यक्ष अशोक कोइराला लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कपिल अञ्जानले गरेका थिए ।

नौवस्तामा समता समाज गठन
राष्ट्रिय जनमोर्चा निकट दलित संगठन जातीय समता समाज नौवस्ता गाउँ तदर्थ समिति गठन गरिएको छ । मंगलबार नौवस्ता ७ गाभरमा भएको एक भेलाले मदन परियारको अध्यक्षतामा ५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । जसको सचिव कमला परियार, कोषाध्यक्ष भविसरा परियार, सदस्य भीमबहादुर परियार र नैनसरा परियार रहेका छन् । वैकल्पिक केन्द्रीय सदस्य तथा बाँके भेला आयोजक समिति संयोजक मनबहादुर परियारको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । भेलामा सहभागीलाई प्रारम्भिक कम्युनिष्ट शिक्षा विषयमा प्रशिक्षण पनि दिइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ३ गते बुधबार