25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

‘फिरफिरे’ लेखक बुद्धिसागर भन्छन्– ‘कर्नाली ब्लुज—२’ को ट्याग लाग्नु नराम्रो होइन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७२  

१) केही समीक्षकले ‘फिरफिरे’लाई ‘कर्नाली ब्लुज–२’ भने । स्वीकार गर्नुहुन्छ ?
‘कर्नाली ब्लुज— २’ समीक्षकहरुले त्यसका बालक पात्र र परिवेशलाई लिएर भनेका होलान् । ‘कर्नाली ब्लुज’को एउटा बालक पात्र र ‘फिरफिरे’का दुई बालक पात्र फरक हुन् । ‘कर्नाली ब्लुज’को पात्रले आफैं कथा भन्थ्यो भने ‘फिरफिरे’का बालकलाई लेखकले पात्र बनाएको हो । ‘फिरफिरे’को एउटा बालक पवनलाई सामाजिक अन्धविश्वासले हतियार बनाएको छ भने अर्को बालक बसन्त लेखक भएको छ । एउटा मानिस लेखक बन्नुका पछाडि कति धेरै रहस्य हुन्छन्, बसन्तले बताउने कोसिस गरेको छ । अर्को कुरा ‘कर्नाली ब्लुज’ सोलोडोलो हिसाबले कथा अगाडि बनाउने उपन्यास थियो भने ‘फिरफिरे’ लेखकीय ट्रिकहरुले भरिएको उपन्यास हो । त्यसैले ‘फिरफिरे’ फरक बनाउने म लेखकको कोसिस थियो ।
तर, पनि ‘कर्नाली ब्लुज—२’ को ट्याग लाग्नु नराम्रो होइन ।
२) किताब मोटो लेख्ने लोभले ‘फिरफिरे’लाई न्याय गर्नुभएन भन्ने टिप्पणी छ । रोयल्टी धेरै पाइने भएर हो ?
छोटो लेखेर न्याय हुँदैन भनेर नै मोटो लेखेको हो । उपन्यास मोटो मेरो इच्छा र साधनाले भएको हो । लोभले मोटो लेखिने होइन, इच्छाशक्तिले लेखिने हो । मलाई जसरी लेख्न मन थियो, त्यसरी लेख्दा मोटो भएको
हो । ‘कर्नाली ब्लुज’ लेखक हुने हुटहुटीले लेखाएको कृति हो भने ‘फिरफिरे’ पाठकले लेखक मानिसकेपछि लेखकले सामाजिक दायित्वबोध गरेर लेखेको कृति हो । यदि मोटै बनाउन खोजेको भए ‘फिरफिरे’ ८ सय पृष्ठको हुन्थ्यो किनभने सुरुवाती लेखन त्यति नै थियो । तर, काँटछाँट गरेर ५३२ पृष्ठमा झारिएको हो ।
३) तपाईंका प्रतिस्पर्धी अरू कोही लेखक नभएर स्वयं तपाईंकै ‘कर्नाली ब्लुज’ हो रे ! यो सत्य हो ?
‘कर्नाली ब्लुज’ले अहिले जुन वाहवाही पाएको छ, त्यो वाहवाही त्यस उपन्यासले प्रकाशनको तीन वर्षपछिदेखि मात्र पाउन थालेको हो । सुरुमा त अनेक कृतिबाट चोरिएको र दैनिक गन्थनले भरिएको भनिएकै हो । ‘फिरफिरे’ आएको डेढ महिना बित्यो, त्यसको सही मूल्यांकन हुन कम्तीमा तीन–चार वर्ष लाग्छ । म कसैसित प्रतिस्पर्धा
गर्दिनँ । आफ्नै कृतिसँग पनि गर्दिनँ । तेस्रो उपन्यासको प्रतिस्पर्धा ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’सँग पनि हुनेछैन । सबैको महत्व आ–आफ्नो स्थानमा रहिरहनेछ ।
४) ‘फिरफिरे’मा दुस्खको पहाडमात्रै ठड्याइएको छ । दुःखै–दुःख, आँसु नै आँसु । पीडा नै पीडा । पाठकको आँखामा आँसु आएपछि मात्रै कृति सफल हुन्छ भन्ने सोच हो ?
बाल्यकालमा मैले समाजबाट अपहेलित, आर्थिक रूपमा कमजोर र शक्तिहीन मानिसको संगत बढी पाएँ । किनभने, यस्ता मानिस बालबालिकाको नजिक हुन्छन् । बालबालिकाहरु धनी, गरिब, जातभात, बलवान र कमजोर केही खोज्दैनन् । खोज्छन् त केवल असल हृदय । मैले जीवनमा धेरैभन्दा धेरै यस्ता मानिसको संगत पाएको छु । त्यसैले लेख्न बस्दा उनीहरुको झझल्को आइहाल्छ र मैले पात्र बनाउँछु । त्यसैले जहिले पनि कमजोरहरु मेरा नायक हुन्छन् । यिनका कथा पढेर रुनैपर्छ भन्ने पनि छैन । रुनुस् भनेर पनि म भन्दिनँ । म त उनीहरुको जीवन सर्लक्कै उतार्ने कोसिसमा हुन्छु । यदि उनीहरुको कथा सुनेर रुन मन लाग्छ भने रुँदा पनि हुन्छ । अधिकांश सीमान्तकृत मानिससित दुःखका पहाडै त छन् नि । तर, उनीहरु रोएरै पनि बस्दैनन् । मैले पात्रलाई धेरै रुवाएको पनि छैन । ऊ रोयो, ऊसले आँसु पुछ्यो, उसका गह भरिए भनेर पात्रहरुलाई रुवाएको छैन । तर, पात्रहरुका कथा पढेर भने धेरै रोएका छन् । र, कति कुरामा रुनु पनि पर्छ । पावरमा भएकाहरु नरोएकैले अहिलेसम्म तिनै कथा दोहोरिएका हुन् । शायद उनीहरु पहिल्यै रोएको भए अहिले पाठक रुने कथा लेख्न पनि पर्दैनथ्यो होला ।
५) भाषाशैली मीठो नभएको भए ‘फिरफिरे’ औसत कृति बन्थ्यो होला ! कथावाचनभन्दा कथा सधैं एक तह माथि हुन्छ जस्तो लाग्दैन ?
साहित्यमा मलाई सबैभन्दा महत्वपूर्ण भाषा र शैली नै लाग्छ । र, म अधिकांश मानिसले बेवास्ता गरेका कुरा पुस्तकको विषय बनाउन
रुचाउँछु । ‘फिरफिरे’मा पनि त्यस्तै विषय उठाएको हुँ । डा. डीपी भण्डारी भन्नुहुन्थ्यो, ‘साहित्यमा विषय ठूलो र सानो हुँदैन, कुकुरको पुच्छर पनि विषय हुन्छ तर त्यसलाई कसरी लेख्ने, त्यो महत्वपूर्ण हो ।’ म पनि त्यस्तै ठान्छु । लेखक दुईखाले हुन्छन्– एक शक्तिशाली कथाको बुई चढेर आफू माथि आउँछन् । अर्काले चाहिँ कमजोर भनिएका विषयलाई आफ्नो बुई चढाएर माथि ल्याउँछन् । मलाई दोस्रोखाले हुन मन पर्छ, त्यसैले म एकदमै मसिनो कथालाई समाउँछु र आफ्नो बर्कतले भ्याएसम्म लेखनशैलीले बलियो बनाउने कोसिसमा हुन्छु । लेखकको अनुहार भनेको उसको भाषा र शैली हो । यी दुई विषयमा कसैले ‘फिरफिरे’लाई सफल मान्यो भने मेरो सफलता हुनेछ ।
६) मान्छेहरू भन्छन्– बुद्धिसागर घमण्डी लेखक हो । के घमण्ड छ र त्यस्तो ?
मैले नि धेरैभन्दा धेरै सुनेको कुरा हो । र, धेरै अन्तर्वार्तामा सोधिने प्रश्न पनि हो । र, मलाई अहिलेसम्म थाहा भएको छैन– मलाई घमण्डी भन्ने को
हुन् ? कहाँ घमण्डी भन्छन् ? कोसित भन्छन् ? मलाई भेटेर कुरा गरेर फर्किनेले अहिलेसम्म ‘तिमी घमण्डी रै’छौ’ भनेको सुनेको छैन । मैले अफिसमा काम गरेका समकालीनहरुले कहिल्यै घमण्डी भनेका छैनन् । मेरा समकालीन लेखकहरुसित राम्रै कुराकानी हुन्छ । पछिल्लो समय म सार्वजनिक कार्यक्रममा त्यति धेरै जाँदिनँ, धेरैसित भेटघाट पनि हुँदैन । मैले अहिलेसम्म दिएका अन्तर्वार्तामा घमण्ड प्रदर्शन गरेको कुनै हरफ पनि हुँदैन । मैले लेख्ने उपन्यास त दुःखी पात्रहरुले भरिने भइहाले, त्यसमा घमण्ड कसरी हाल्नू ? मैले लेख्ने संस्मरणहरुमा आफैंलाई उडाएका क्षणहरु हुन्छन्, त्यहाँ घमण्ड कसरी आउनू ? त्यसैले म यस्तो प्रश्न सुन्दा साह्रै सोचमग्न हुन्छु–– मैले कहाँ घमण्ड प्रदर्शन गरेछु ?
७) अब केटाकेटीका बिठ्याइँ र गाउँका सामान्य कथाभन्दा पृथक कहिले लेख्नुहुन्छ ?
‘फिरफिरे’मा केटाकेटीका बिठ्याइँमात्र छैनन् । र, सामान्य कथा मात्र पनि छैन । बोक्सीको नाममा कमजोर महिलामाथि गरिने हिंसा सामान्य हो र ? शायद धेरैलाई सामान्य लागेकोले अहिले पनि त्यस्ता घटना भइरहेका होलान् । गाउँकी सबैभन्दा कमजोर महिलालाई बोक्सीको नाममा गुहु कोच्याइनु, रड तताएर आँखा फुटालिनु, ज्युँदै जलाइनु, गाउँबाट निकाला गरिनु सामान्य विषय हुँदै होइनन् तर हामीलाई सामान्य नै लाग्ला । त्यसैले त यस्ता समाचारले पनि पत्रिकामा ठूला स्पेस पनि पाउँदैनन् । पाए पनि राजधानी छेउछाउमा भएका घटनाले मात्र पाउँछन् । त्यसैले मैले यो ‘सामान्य’ विषयलाई ‘फिरफिरे’को विषय बनाए । अनि, तराईका अधिकांश गाउँमा इन्सेफ्लाइटिसको प्रकोप छ । सुरुवातमै उपचार पाउने हो भने एकदमै कम खर्चमा उपचार हुने यो रोगका कारण धेरैको जीवन बर्बाद भएको छ । त्यसैले पनि ‘फिरफिरे’को पोस्टकार्ड खण्ड लेख्नु परेको हो । मसान लायो भनेर झाँक्रीको भर पर्दा इन्सेफ्लाइटिस लागेका कैयौं मानिसले ज्यान गुमाउनु परेको छ, बाँचेकाहरु पनि मस्तिष्कमा हुने घातले ज्युँदो लाश भएर जीवन बिताउन बाध्य भएका छन् ।
यही रोगका बारेमा छलफल गर्दा एकजना डाक्टरले मलाई धन्यवाद दिनुभएको थियो । उहाँकै इन्जिनियर साथीलाई इन्सेफ्लाइटिस भएको
रै’छ । उहाँका सम्पूर्ण स्मृतिहरु हराएका रै’छन् । वर्षौंदेखिकी प्रेमिकासित एक महिनापछि बिहे थियो तर उहाँले सम्पूर्ण स्मृति गुमाउनुभयो । पढे–लेखेको सप्पै गयो । शायदै स्मृति अब फर्केला । त्यसैले पनि मलाई इन्सेफ्लाइटिस गम्भीर विषय लाग्यो । यही रोगका कारण मेरो स्कुल पढ्दाको साथीको जीवन १५ वर्षपछाडि फर्कियो । र, गाउँमा मसानले खायो भनेका अनेक मानिस इन्सेफ्लाइटिसले मरेका पो हुन् कि ? किनभने, इन्सेफ्लाइटिसले थलाउँदा मानिस त्यस्तो व्यवहार प्रदर्शन गर्छ, जस्तो हामी भूतप्रेत लागेको मानिसले गर्छ भन्छौं । ‘फिरफिरे’मा मैले आफ्नो बर्कतले भ्याएसम्म यस्ता अनेक विषय उठाउन खोजेको छु तर कतिलाई बालक र चकचकीबाहेक केही लाग्दैन । र, ती चकचके बालकहरु अन्धविश्वासको जालोमा पारेर कसरी ‘हतियार’ बनाइन्छन् भन्ने पनि कसैले देख्दैन । जुठीआमै र कोहिनूर झाँक्री दुवै कथा भन्छन् । एउटाले असल कथा भन्छ, अर्कोले खराब । असल र खराब कथा (अथवा विचार)को लडाइँ हाम्रो समाजमा लामो समयदेखि चल्दै आएको छ । त्यसले अनेक सामाजिक जटिलता पनि ल्याएको छ । मैले गम्भीरतापूर्वक यस्ता ‘सामान्य’ विषयलाई महत्वपूर्ण ठानेको हुँ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७२     12:36:57 PM  |