बर्दिया, फागुन २३ – बर्दियामा जन्ती बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । २० जना भन्दा धेरै घाइते भएका छन् । बर्दियाको धधवार–७ दुध्धाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे १ ख ८५४ नम्बरको बस बेहुली लिएर फर्कर्दै गर्दा शनिबार राति साढे ९ बजे बबई नगरपालीका–६ सैनवारको जम्ती खोला पुल नजिक पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धधवार–७ दुध्धाका १७ वर्षका विष्णु थारु, १९ वर्षका सन्तोष थारु, १९ वर्षका निरज थारु र १४ वर्षका अरुण थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । उनीहरुको घटनास्थल मै ज्यान गएको हो ।
घाइते २० जनालाई भुरीगाउँमा प्राथमिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । ज्यान गुमाएका र घाइते भएकाहरु बसको छतमा बसेका प्रहरीले जनाएको छ । बस पल्टिएपछि बबई सांस्कृतिक महोत्सवका युवाहरु तत्काल उद्दारमा जुटेका थिए । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । बसको क्षमता भन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार बेहुला र बेहुली अर्को जीपमा भएकाले उनीहरु सकुशल छन् ।