धनगढी, फागुन १७ गते। सुदूरपश्चिमका पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रको पदयात्रा मार्ग र पर्वतारोहणबारे अध्ययन गरिएको छ । ‘अनन्त अपि सैपाल’ नामक गैरसरकारी संस्थाले सम्भाव्यता अध्ययन गरेको हो । संस्थाले पाँच हजार मिटरभन्दा अग्ला सुदूरपश्चिमको बझाङ, बाजुरा र दार्चुलाका १२ वटा हिम टाकुराको ‘ट्रेकिङ रुट’ र स्थलगत विवरण अध्ययन गरेको यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।
अध्ययनअनुसार समग्र सुदूरपश्चिमको आन्तरिक तथा बाह्य पर्यटन विकासको सम्भावना बोकेको यस पदमार्गलाई अपि राउन्ड ट्रेक र सैपाल राउन्ड ट्रेक गरी दुई चरणमा यात्रा पूरा गर्न सकिने बताइएको छ ।
अनन्त अपि सैपाल सुदूरपश्चिमका पदमार्ग खोज अभियान तथा पर्वतारोहण सम्भाव्यता अध्ययन गर्न स्थापना भएको संस्थामा आबद्ध तथा ‘टेक्निकल हिमालय
ट्रेक्स एण्ड एक्सपिडिसन’ नेपालका सञ्चालक ध्रुव विष्टले कार्यक्रममा जानकारी दिनुभयो ।
उहाँले व्यक्तिगत पहलमै सुदूरपश्चिमका हिमाल र उच्च पहाडी भेगका ट्रेक रुट खोजी गर्ने प्रयास गरिएको बताउनुभयो ।
गैरशेर्पा समुदायबाट मुलुककै एकमात्र अन्तर्राष्ट्रिय गाइड विष्टले सुदूरपश्चिमका हिमालको आरोहणका लागि पर्यटकलाई आकर्षित गर्न सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सुदूरपश्चिमका उच्च हिमाली भेगबारे अहिलेसम्म अध्ययन नै नभएको अवस्थामा तीन वर्ष लगाएर यस क्षेत्रका हिमालको भौगोलिक अवस्थितिको सामान्य नक्साङ्कन गर्न सकिएको अर्का सञ्चालक दीपेन्द्र थापाले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्