केशव राना
कोहलपुरको टाउनप्लानिङ्ग भित्रका सडकहरु अतिक्रमण गरी निर्माण सामग्री थुपार्ने गरिएको छ । सडकको आधा भाग नै ढाक्ने गरी निर्माण सामग्री थुपार्दा दुर्घटनाको जोखिम बढेको छ ।
दिनप्रतिदिन कोहलपुरमा घरहरु तीव्र रुपमा निर्माण भैरहेका छन् । तर, घर तथा भवनहरु निर्माण गर्दा निर्माण सामग्रीहरु भने व्यवस्थित गरेको पाइदैन । सडक अतिक्रमण गरेर निर्माण सामग्री थुपार्दा सवारी आवागमन तथा पैदल यात्रुलाई पनि समस्या भएको छ । बालुवा, गिट्टी, ढुंगा लगायत निर्माण सामग्रीहरु सडकको आधा भाग ढाक्ने गरी राखेको पाइन्छ । अझ बालुवा नालीमा पस्दा नाली नै जाम हुने अवस्था सिर्जना भएको छ ।
यसले गर्दा भित्री सडकहरु झन् झन् कुरुप देखिने गरेको छ । महिनौं दिनसम्म पनि निर्माण सामग्रीहरु थुपार्दा पनि सरोकारवाला निकाय मौन बसेको छ ।
यद्यपी यसअघि कोहलपुर नगरविकास समितिले सडक अतिक्रमण गरी राखिएका घुम्ती, टहरा, निर्माण सामग्री हटाउनका लागि एक हप्ते अल्टिमेटम दिएको थियो । तर, महिना दिन बित्न लाग्दा समेत सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्रीहरु भने हट्न सकेको छैन । नगर विकासको एक हप्ते अल्टिमेटमलाई अटेर गर्दै निर्माण सामग्री भने घरधनीले जस्ताको तस्तै राखेका छन् ।
यता नगर विकास समितिले पनि एक हप्ता अल्टिमेटम दिई निर्माण सामग्री हटाउन आग्रह गरेपनि त्यसको कार्यान्वयन प्रक्रिया भने फितलो देखिएको छ ।
कोहलपुर नगरविकास समिति अध्यक्ष लक्ष्मणराज पौडेलले एक हप्ताभित्रै प्रक्रियाको थालनी गर्ने बताएका छन् । ‘विविध कारणले कार्यान्वयन प्रक्रिया केही ढिला भएको हो’ उनले भने ‘यो हप्ताभित्रै हामी कार्यान्वयन प्रक्रिया शुरु गर्छौ ।’
सूचना जारी गरेपछि सडक अतिक्रमण गरी बनाइएका अधिकांश घरटहरा, घुम्ती लगायतका संरचना स्वतःस्फूर्त रुपमा हटेको बताउँदै उनले सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री पनि हटाउने जानकारी दिए । ‘अब प्रशासनको सहयोगले सडक अतिक्रमण गरी राखिएका संरचनाहरु र निर्माण सामग्रीहरु हटाइन्छ’ उनले भने ‘सो वापतको खर्च भने घरधनीले नै व्यहोनुपर्नेछ ।’
प्रकाशित मिति : २०७२ माघ ७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्