दशरथ घिमिरे
५ माघ, दाङ । एउटा काउलीको तौल कतिसम्म होला ? तपाईलाई लाग्नसक्छ ७/८ किलो । तर, एउटै बोटको काउली २२ किलो सम्म पुगेको सुन्दा अचम्म लाग्न सक्छ ।
यस्तै एक बोट टमाटरमा कतिवटासम्म फल लाग्ला ? एउटा बोटमा टमाटरका एक सय २३ फल भन्दा तपाईलाई फेरि आश्चर्य लाग्न सक्छ । यी कुनै आश्चर्य मान्ने फल हैनन । दाङको देउखुरीमा जारी कृषि तथा व्यापारिक महोत्सवमा प्रदर्शनमा राखिएका कृषि उपज हुन । उक्त प्रदर्शनीमा एक घरी केरामा हजार भन्दा बढी कोसा रहेका छन् ।
लमही नगरपालीका वडा नं. ६ मजगाउँका धनिराम चौधरीले फलाएको काउली तौल लिँदा २२ किलो सम्म पुग्यो । ब्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका चौधरीले आफुले फलाएको सवै भन्दा ठुलो काउली अरुलाई पनि देखाउन महोत्सवमा राखेका हुन् । ‘काउली प्रदर्शनीमा राखेको छु, धेरै मानिसले हेर्नु भएको छ, एउटै काउली २२ किलोको भन्दै आश्चर्यमा पर्ने धेरै हुनुहुन्छ’ उनले भने-‘काउली वेचेरै आम्दानी लिईरहेको छु ।’
त्यस्तै सिसहनिया लठ्ठहवाका किसान लिलाराम चौधरीले टमाटरको बोट प्रदर्शनमा राखेका छन् । टमाटरको एउटै बोटमा एकसय २३ फल लागेको छ । लमही जेसीजले आयोजना गरेको देउखुरी कृषि तथा ब्यापारीक महोत्सवमा चौधरीले राखेको टमाटरको बोट हेर्न मानिसहरुको भिड लाग्ने गरेको छ । एउटै बोटमा एक सय भन्दा वढी टमाटर फलेको देखेर अधिकांश दर्शकले आश्चर्य प्रकट गर्ने गर्दछन् ।
यूएस कृषि र्फम लमही नगरपालीका वडा नं. १० देउपुरले जैविक झोल मल, च्याउको विऊ प्रदर्शनमा राखेको छ । रासायनीक मलको प्रयोगमा कमि ल्याउन जैविक मल वनेको छ । त्यही जैविक झोल मलको वारेमा जानकारी दिन महोत्सवमा राखिएको र्फमकी सञ्चालिका उशा अधिकारीले बताइन ।
कोलही निवासी शुसीला शर्माले केराको घरी प्रशर्दनीमा राखेकी छन् । उनले राखेको एकघरी केरामा एकहजारभन्दा बढी कोशा रहेका छन् ।
त्यस्तै प्रदर्शनीमा उन्नत तरिकाले खेती गर्न चाहिने औजार पनि राखिएको छ । मकै छर्ने मेसिनदेखि घाँस काटने, धान गोड्ने, धान काट्ने मेसिनहरु राखिएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्