20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

क्षेत्र नं. १ को रनिङ्ग शिल्ड आज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ ५, २०७२  

कोहलपुर, माघ ५
विद्यालय स्तरिय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७२ बाँके क्षेत्र नं. १ को छनौट प्रतियोगिता आजबाट सुरु हुँदै छ । राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालले प्रतियोगिताको उद्घाटन गर्ने संयोजक नारायणी वलीले जानकारी दिइन् । प्रतियोगिता माघ ५ देखि ७ गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता तीनवाट विधा (भलिबल, कबड्डी, एथलेटिक्स)मा सम्पन्न हुने आयोजकले जनाएको छ । त्यस्तै एथलेटिक्समा दौड, रिले, हाई जम्प, लङ्गजम्प ट्रिपल जम्प र सटपुट लगायत खेल रहेका छन् । क्षेत्र नं. १ मा भएका ४४ विद्यालय मध्ये ३८ वटा विद्यालयले सहभागिता जनाउने आयोजकले जनाएको छ । ब्राईटलाईट एकेडेमीको व्यवस्थापनमा कोहलपुरको तेह्र विगाहा मैदानमा हुने प्रतियोगितामा २५ सय बढी खेलाडीहरुले सहभागिता जनाउने छन् ।
यसअघि क्षेत्र नं. ४ र क्षेत्र नं. २ को रनिङ्ग शिल्ड सम्पन्न भैसकेको छ । यस्तै आगामी वर्ष क्षेत्र नं. ४ को इश्वरी मावि एचगाउँ र क्षेत्र नं. २ को जयकिसान मावि भोजभगवानपुर आयोजक विद्यालय भएको जिल्ला खेलकुद विकास समिति बाँके अध्यक्ष दीपक जिएमले बताए ।
यसपालीको जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता भने समितिले नै गर्ने भएको छ । राम उच्च माविले ओलम्पिक झण्डा फिर्ता गरेपछि समिति आफैले रनिङ्ग शिल्ड आयोजना गर्न लागेको हो । तयारी नपुग्ने भन्दै अन्य विद्यालयले रनिङ्ग शिल्डको आयोजक विद्यालय बन्न अस्विकार गरेपछि समितिले आफैले जिल्ला स्तरीय रनिङ्ग शिल्ड गर्न लागेको अध्यक्ष जिएमले बताए ।
जिल्ला स्तरीय रनिङ्ग शिल्ड माघ १५ गतेबाट शुरु हुँदैछ । राष्ट्रपती बाँके आउन लागेको मौका छोप्दै रनिङ्ग शिल्डको उद्घाटन गर्ने सोच बनाएको समितिले हालसम्म स्थान भने तोकेको छैन । तर, रनिङ्ग शिल्डको तयारी भने व्यापक रुपमा भैरहेको अध्यक्ष जिएमले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, माघ ५, २०७२     10:29:08 AM  |