संविधान संशोधन नेपालीको लागि होइनः उपप्रम केसी



माघ ४

काठमाडौ–नेपाल सरकारका उप प्रधानमन्त्री चित्रबहादुर केसीले नेपाली जनताले भोगिरहेको समस्या दुई कारणले भएको र संविधान संशोधन पनि नेपालीका लागि नभई अर्कैका कारण संसदमा दर्ता भएको बताएका छन् ।chitra-bahadur-kc

नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघको आयोजनामा ‘पर्यटन र पर्वतारोहणः नेपाल–क्यानडा’ विषयक अन्तरक्रियामा उनले भने, ‘यसपाली कसैलाई नसोधी संविधान जारी गर्ने र सरकार प्रमुख बनाउनाले नेपाल र नेपालीले सास्ती खेप्न परेको छ ।’

‘यसैगरी संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पनि नेपाल र नेपाली जनताको लागि नभई अरु कसैको चाहनामा दर्ता भएको अवस्था छ’ उनले ठोकुवा गरे ।
उनले सिता राम्री भएकाले राम र पछि रामणको आँखा लागेझै हाम्रो हिमाल र त्यहाँबाट बग्ने पानीमा अरुको आखा लाग्नुले नेपालीले समस्या भोग्न परिरहेको बताए ।

उनले नेपाल र क्यानडा भौगोलिक रुपमा टाढा भएपनि सम्बन्ध सुमुधुर रहेको चर्चा गर्दै नेपालीहरु पेट पाल्न उता जाने गरेको र क्यानडेलीहरु नेपालको हिमाल, पहाड हेर्न आउने गरेको बताए ।

नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल हिमालहरुको राजधानी भएकाले यसको रक्षाका लागि विश्वभरीका नागरिक लाग्नुपर्नेमा जोड दिए ।

उनले वर्षमा चालिस हजार क्यानेडेली नागरिक नेपालमा आउने गरेको र त्यो मात्रा बढाउने वातावरणका लागि सरकार र पर्यटन ब्यवसायीहरुलाई आग्रह गरे ।
वेल्जियमका कन्सुलर आङ छिरिङ शेर्पाले कार्यपत्र पेश गर्दा नेपालमा आठ हजार मीटरभन्दा अग्ला हिमाल आठ नभइ चौध वटा रहेको चर्चा गरे ।

सोही अवसरमा क्यानडाका कन्सुलर बुद्ध बस्नेत, संघका महासचिव श्रीधर गौतम, क्यानडावासी मानकाजी जेना, पर्वतारोही माया शेर्पा, अल्ट्रा धावक मीरा राई, संघका निरोध मास्के, गायिका कमोल वली लगायतले नेपाल क्यानडा मैत्रीको विभिन्न आयामको चर्चा गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ४ गते सोमबार