2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

चुरोट पिउनेको दिमागको पत्र पातलो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ३, २०७२  

 

smokingचुरोट पिउनेले जति सक्दो चाँडो आफ्नो आदत त्यागेमा यसअघि चुरोटले दिमागमा पारेको क्षतिबाट बच्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । दिमागको शक्तिलाई पूर्ववत् अवस्थामा राख्न ७० वर्षपछि पनि चुरोट रोक्न सकिने उनीहरुको सुझाव छ ।
युनिभर्सिटी अफ इडनबर्कका वैज्ञानिकहरुले हालै सार्वजनिक गरेको नयाँ अनुसन्धानअनुसार चुरोटले दिमागको बाहिरी पत्रलाई पातलो बनाउँछ । वृद्धावस्थासँगै दिमागको पत्र पातलो हँुदै जानु स्वाभाविक हो । तर चुरोट पिउने मानिसहरुको दिमागी पत्र भने उनीहरुको लतअनुसार युवावस्थामै पातलो हुन्छ । स्मरण, ध्यान, सचेतना आदिको निर्माण हुने क्षेत्र दिमागको सेरिब्रल कोर्टेक्सममा चुरोटले प्रत्यक्ष असर पार्छ ।
अध्ययनमा थोरै पिउनेमा भने केही सातापछि हल्का असर देखिने बताइएको छ । तर ३० वर्षदेखि दैनिक २० वटासम्म चुरोट खाएका व्यक्तिहरुको दिमाग पूर्ववत् अवस्थामा आउन २५ वर्ष लाग्ने पनि अनुसन्धानकर्ताहरुले बताएका छन् ।  तर चुरोट छोड्नेवित्तिकै दिमागमा निको हुने प्रक्रिया स्वतः सुरु हुने पनि दाबी गरिएको छ ।
मोलिक्युलर साइक्याट्रिक जर्नलमा प्रकाशित सो अध्ययन अनुसार धूमपान, दिमागी तीक्ष्णतामा ह्रास र डिमेन्सिया (भुल्ने रोग)बीच गहिरो सम्बन्ध हुन्छ । अनुसन्धानकर्ताले औसत ७३ वर्ष उमेर पुगेका पाँच सय पुरुष र महिलाको दिमाग अध्ययन गरेका थिए । आधाभन्दा बढी सहभागी लामो समयदेखि चुरोट पिइरहेका व्यक्ति थिए भने बाँकी वर्षाैंसम्म चुरोट पिएर अहिले छोडेका तथा कहिल्यै पनि चुरोटको आदत नगरेका थिए ।
चुरोट कहिल्यै नपिउनेको दिमागको पत्र बाक्लो पाइएको थियो भने पिउनेको पत्र निकै पातलो देखिन्थ्यो । त्यस्तै केही वर्षअगाडि चुरोट छोड्ने व्यक्तिको दिमागको पत्र अहिले खाइरहने व्यक्तिको तुलनामा केही बाक्लो देखिन्थ्यो । तर लामो समयसम्म चुरोट खानेहरुको दिमागको पत्र निकै पातलो भएको पाइएको थियो । दिमागको पत्र पातलो भएसँगै चुरोट पिउनेको स्मरण हराएको पनि अध्ययनमा पुष्टि भएको थियो ।
‘कोर्टिकल रिकोभरी हुन केही साता लाग्छ । तर त्यो उनीहरुले पिउने चुरोटको मात्रामा भर पर्छ,’ अनुसन्धान टोलीले भनेको छ । अध्ययन टोलीका नेता प्राध्यापक इअन डियरी भन्छन्, ‘चुरोटको मात्र बढी भएसँगै दिमाग कमजोर हुने शतप्रतिशत सत्य हो । तर बीचमै चुरोट त्यागेमा दिमागको रिकोभरी पनि हुन्छ । मानिसले पिएको चुरोटको मात्राअनुसार रिकोेभरी समय लामो वा छोटो हुन सक्छ ।’
डेली मेलको सहयोगमा 

प्रकाशित मितिः आइतवार, माघ ३, २०७२     11:23:27 AM  |