आर्यना साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा



काठमाडौँ ।

विश्व नम्बर एक टेनिस खेलाडी आर्यना साबालेन्काले घरेलु खेलाडी अमान्डा एनिसिमोभालाई हराउँदै यूएस ओपन महिला एकलको उपाधि रक्षा गरेकी छन् । बेलारूसकी साबालेन्काले भिडन्तमा ६–३ र ७–६ (७–३)को स्कोरमा जित हासिल गर्दै उपाधि रक्षा गरेकी हुन् । यसवर्ष दुईवटा ग्रान्डस्लाम फाइनलमा हार ब्यहोर्नबाट बच्न साबालेन्का लागि युएस ओपन महत्वपूर्ण थियो । दोस्रो फाइनल हारको खतरा टारेसँगै साबालेन्काले घुँडा टेकेर भावुक हुँदै खुसी व्यक्त गरेकी थिइन् ।

साबालेन्काले ५–४ को अग्रतामा हुँदा खेललाई आफ्नो पक्षमा पार्न सकिनन् । तर उनले पुनरागमन गर्दै टाई–ब्रेकरसम्म पु¥याएकी थिइन् । जहाँ उनले उत्कृष्ट प्रदर्शन गरिन् र तेस्रो च्याम्पियनसिप प्वाइन्टमा जित सुनिश्चित गरिन् । २७ वर्षीया साबालेन्का यस सिजनमा डब्ल्यूटिए टुरको सबैभन्दा प्रभावशाली खेलाडी बनेकी छिन् । तर, ग्रान्डस्लाम प्रतियोगिताको अन्तिम चरणमा उनको स्थिरतामाथि प्रश्न उठाइएको थियो ।

यसअघि उनले अस्ट्रेलियन ओपन २०२३ र २०२४ मा जितेकी थिइन् । तर यो वर्ष उनी फ्रेञ्च ओपनको फाइनलमा पराजित भएको थिइन् ।
अमेरिकी आठौँ वरियताकी एनिसिमोभाले भने लगातार उच्च स्तरको प्रदर्शन कायम राख्न नसक्दा हार बेहोर्नुप¥यो । २४ वर्षीया एनिसिमोभाले आफ्नो पहिलो ग्रान्ड स्लाम फाइनल (जुलाईमा विम्बल्डनमा इगा स्वियाटेकविरुद्ध ६–०, ६–० को हार)भन्दा राम्रो प्रदर्शन गरिन् । तर फेरि पनि उपाधि जित्न नसक्दा उनी आँसु झार्न बाध्य भइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार