कोहलपुर (बाँके)।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर बाँकेको २१औँ स्थापना दिवस तथा ८औँ अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनसँगै पुस्तकालयको नयाँ नेतृत्व चयनको बाटो खुलेको छ । चेतकान्त भट्टराई नेतृत्वको नयाँ कार्यसमितिको तीन वर्षे पदावधि सकिएकोले अब नयाँ नेतृत्व चयन हुने भएको हो । नयाँ कार्यसमिति चयनका लागि तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्दले जनाएको छ ।
अध्यक्ष भट्टराईका अनुसार इश्वरी ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गर्ने निर्णय भएको छ । समितिको सदस्यहरूमा रुद्रमणी न्यौपाने र विष्णु बेल्वासे रहेका छन् । उनले भने, ‘भर्खरै अधिवेशन सकिएको छ । हामीले तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेका छौँ । कार्यसमितिले औपचारिक रूपमा निर्वाचन मण्डललाई कार्यभार प्रदान गरेपछि प्रक्रिया अघि बढ्छ ।’ सहमतिमा भए छिट्टै कार्यसमिति चयन हुने र ढिलो हुने अवस्था आएमा वा अन्य कारणले ढिलो भएमा दसैँपछि पुस्तकालयले नयाँ नेतृत्व पाउनेछ ।
हालका अध्यक्ष भट्टराईले दोस्रो कार्यकालको लागि ठाकुरप्रसाद भुषाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि पनि उनी एक कार्यकाल अध्यक्ष भएका थिए । अब गठन हुने नयाँ कार्यकालका लागि समेत उनी इच्छुक देखिन्छन् । फेरि अध्यक्षमा लड्ने हो ? भन्ने प्रश्नमा उनले भने, ‘सहमतीय रूपमा सबै साथीहरूले तपाईँ नै हुनुहोस् भन्नुभयो भने फेरि अध्यक्ष हुँला । निर्वाचनमार्फत हुने भयो भने मेरो उम्मेदवारी रहँदैन ।’ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा कूल ७३३ जना सदस्य छन् । निर्वाचन भएमा उनीहरू सबै मतदानका लागि योग्य हुन्छन् । उनीहरूले नै नेतृत्व चयन गर्नेछन् ।









प्रतिक्रिया दिनुहोस्