बाँकेका नारी लेखकको परिचय दिने पुस्तक सार्वजनिक



नेपालगन्ज ।

बाँकेका कम्तीमा एउटा साहित्यिक पुस्तक प्रकाशन गरेका नारी लेखकहरूबारे जानकारीमूलक पुस्तक प्रकाशन भएको छ । समालोचक लेकप्रसाद प्याकुरेलले बाँके जिल्लामा रहेर साहित्य सिर्जनामा क्रियाशील २६ जना नारी स्रष्टाका ५४ साहित्यिक पुस्तकहरूको संक्षिप्त समालोचनासमेत गरेर तयार गरेको ‘बाँकेका नारी स्रष्टा र सिर्जना’ पुस्तक नेपालगन्जमा विमोचन गरिएको हो । कल्पना फाउन्डेसन नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मीले उक्त पुस्तकको विमोचन गरे ।

कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक डा.पुष्कर रिजालले पुस्तक ऐतिहासिक र साहित्यिक हिसाबले महत्वपूर्ण दस्ताबेजका रूपमा आएको बताए । कल्पना फाउन्डेसनका अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै कृतिकार प्याकुरेल, प्राज्ञ ढकाल, डा. तिमिल्सिना, शशिराम कार्की एवं साहित्यकार किरण आचार्यलगायतले पुस्तकको महत्वका बारेमा चर्चा गरेका थिए।

स्रष्टाहरूलाई गरियो सम्मान

कृतिमा समेटिएका २६ वटै नारी स्रष्टाहरूलाई कार्यक्रममा नारीरत्न सम्मानले सम्मानित पनि गरिएको थियो । यसैगरी, सोही कार्यक्रममा साहित्यकार डा.हरिप्रसाद तिमिल्सिनालाई कल्पना पौडेल जिज्ञासुद्वारा स्थापित मनिकर्णा टीकाराम स्मृति पुरस्कार र साहित्यकार महानन्द ढकाललाई ऋषिराम सापकोटाद्वारा स्थापित देउकला टीकानिधि स्मृति पुरस्कार अर्पण पनि गरिएको थियो ।

पौडेल र सापकोटाले आफ्ना मातापिताको नाममा स्थापना गरेका ती पुरस्कारको राशी जनही ६ हजार एक सय रूपैयाँ रहेको छ । सोही कार्यक्रममा ईश्वरी रिजाल, चन्द्रावती अधिकारी, चरित्रा शाह, नमिता बराल, नन्दा घिमिरे, इन्दिरा गौतमलगायतले रचनावाचन पनि गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार