सामुदायिक क्याम्पसमा लगानी बढाउँदै कर्णाली सरकार



सुर्खेत ।

कर्णाली प्रदेशभर कूल ६१ वटा सामुदायिक क्याम्पसहरू छन् । जसमध्ये ३३ वटा सामुदायिक क्याम्पसको भवन, शौचालय र घेरबारको काम प्रदेश सरकारले सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा प्रदेश सरकारले उक्त सामुदायिक क्याम्पसका पूर्वाधार निर्माण गरेको हो ।जसबाट १८ हजार ३७८ जना विद्यार्थी लाभान्वित भएका छन् । गाउँमै सुविधासम्पन्न पूर्वाधार निर्माण गरेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सामुदायिक क्याम्पसमा लगानी बढाएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गाउँका विद्यार्थी गाउँमै टिकाउने र घरमै बसेर उच्च शिक्षा हासिल गर्नसक्ने वातावरण बनाउन मन्त्रालयले सामुदायिक क्याम्पसका पूर्वाधारमा लगानी बढाइएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । ‘कर्णाली प्रदेशमा शैक्षिण गुणस्तरमा सन्तोषजनक छैन । दुर्गम भूगोलका कारण कर्णाली जसरी हेपिन्छ बौद्धिक हिसाबले पनि कर्णालीवासी त्यसैगरी हेपिनु परिरहेको अवस्था छ,’ उनले भने, ‘प्रायः सबैको बुझाइमा कर्णालीका विद्यार्थीहरू कमजोर हुन्छन् भन्ने मानसिकता छ । शिक्षामा कर्णाली पछाडि पर्नुमा समयमै पाठ्यपुस्तक नपुग्नु, कमजोर भौतिक पूर्वाधार, दक्ष जनशक्तिको अभाव र गुणस्तरीय शिक्षाका लागि उपयुक्त वातावरण लगायतका कारणहरू हुन् ।’

पूर्वाधार अभावकै कारण कतिपय क्याम्पस तथा विद्यालयमा पठनपाठनमा समेत असहज अवस्था छ । यही समस्या समाधानको लागि कर्णाली प्रदेश सरकारले पछिल्लो समय सामुदायिक क्याम्पसको पूर्वाधार निर्माणमा लगानी बढाउन थालेको हो । क्याम्पसहरूको सुदृढीकरण र व्यवस्थापनका लागि मन्त्रालयले भवन निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । यस्तै चालू आर्थिक वर्षमा पनि ३५ वटा भवन निर्माणका आयोजना पाइपलाइनमा छन् ।

समयमै ठेक्का प्रक्रिया गरेर यही आर्थिक वर्ष ३५ वटै क्याम्पसको भवन निर्माण गर्ने प्रदेश सरकारको योजना छ । ३५ वटा क्याम्पसको भवन निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा बजेट सुनिश्चितता गरिसकेको छ । कर्णाली प्रदेशका अधिकांश क्याम्पसमा पूर्वाधारको अभाव छ । आंशिक आवासीय सुविधा, ल्याब र पुस्तकालयमा न्यून सुविधा छन् । भौगोलिक रूपमा दुर्गम र पूर्वाधारका हिसाबले पनि कमजोर हुँदा शैक्षिक गुणस्तरमा ठूलो असर पर्नसक्ने भन्दै सरकारले सामुदायिक क्याम्पसको पूर्वाधार निर्माणका लागि लगानी बढाएको हो ।

सामुदायिक क्याम्पस सुधार योजनाअन्तर्गत कर्णालीको समग्र उच्च शिक्षाको पहुँच, गुणस्तर र समावेशिता विस्तास गर्ने उद्देश्यले प्रदेश सरकारले सामुदायिक क्याम्पस सुधार योजना अगाडि सारेको हो । ग्रामीण बस्तीका क्याम्पसहरूको पूर्वाधारसँगै प्रदेश सरकारले कर्णाली सुहाउँदो शिक्षाका लागि समेत पहल गरिरहेको मन्त्री भण्डारीको भनाइ छ ।

‘कर्णालीको भूगोल सुहाउँदो शिक्षा आर्जनका लागि विश्वविद्यालय र क्याम्पसको साझेदारीमा विभिन्न खोज तथा अनुसन्धानका कार्यहरू सञ्चालन गर्ने पहल भइएको छ,’ उनले थपे, ‘कर्णालीमा आफ्नै प्रादेशिक विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य लिएको प्रदेश सरकारले चालू आर्थिक वर्षमा क्याम्पसहरूको डिजिटलाइजेशनका बजेट पनि व्यवस्थापन गरेको छ । पूर्वाधारसँगै प्रदेश सरकारले शैक्षिक व्यवस्थापन, तालिम र पाठ्यक्रमसम्बन्धीका कार्यहरू समेत गर्दै आएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार