नौ वटा झोलुंगे पुल सञ्चालन



हुम्ला ।

जिल्लामा निर्माण भएका नौ वटा झोलुंगे पुल सञ्चालनमा आएका छन् । एक वर्षको अवधिमा निर्माण भएका नयाँ नौ वटा झोलुंगे पुल सञ्चालनमा आएपछि स्थानीयलाई आउजाउ गर्न सहजता भएको छ । ६ वटा गाउँपालिकामा पर्ने खोला तथा कर्णाली नदी माथि ती झोलुंगे पुल निर्माण भएका हुन् । पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीका अनुसार चारदेखि नौ महिनाको अवधिमा पुल निर्माण सम्पन्न गरिएको हो ।

आर्थिक वर्ष २०८१–०८२ को बजेट अन्तर्गत नौ वटा नयाँ झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएको उनले जानकारी दिए । निर्माण भएर सञ्चालनमा आएका झोलुंगे पुलहरूमा चार वटा स्नोल्याण्ड एकीकृत विकास केन्द्र र हिमालयन कन्जरभेसनको समन्वययमा निर्माण गरिएका हुन् । यसरी निर्माण गरिएका झोलुंगे र ट्रस ब्रीजहरूमा नाम्खा गाउँपालिका–२ को छोसाङमा ट्रस ब्रीज, सिमकोट गाउँपालिका–१ को तल्लो ठाँडो साँघुमा झोलुंगे पुल, खार्पुनाथ गाउँपालिका–४ मा नल्ना खोला ट्रस ब्रीज, खार्पुनाथ गाउँपालिका–१ र २ मा झोलुंगे पुल रहेका छन् ।

त्यसैगरी सर्केगार्ड गाउँपालिका–२ मा जुम्ली गुम्ब झोलुंगे पुल, सर्केगार्ड गाउँपालिका–५ र ७ को मा भ्यूपार्न ट्रस ब्रीज, अदानचुली गाउँपालिका–३ मा पानी घट्ट ट्रस ब्रीज र ताँजाकोट गाउँपलिका–२ र ४ मा हुङ्गार खोला झोलुंगे पुल निर्माण भएका छन् । यी पुल निर्माण गर्न चालीस लाख ६८ हजार ७३८ रूपैयाँँदेखि ९९ लाख ८७ हजार रूपैयाँँसम्म लागत खर्च भएको छ । जिल्लामा धमाधम झोलुंगे पुल निर्माण हुन थालेपछि तुईन विस्थापन हुँदैछन् । झोलुंगे पुल निर्माण भएपछि तीन घण्टासम्म बाटो पनि छोटिएको खार्पुनाथ गाउँपालिका–२ का स्थानीय खड्क रावलले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २१ गते शनिबार