
नेपालगन्ज ।
बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा केही युवाहरूले रातीको समयमा चोरहरूलाई निगरानी गर्ने भन्दै सामूहिक रूपमा रेकी गरिरहेका छन् । केही दिनअघि एउटा घरमा एकजना अपरिचित मान्छे घरमा पस्न लागेको जानकारी पाएपछि स्थानीयहरूले होहस्ला ती मान्छे भागेका स्थानीयहरू बताउँछन् । त्यसपछि स्थानीय युवाहरूले समूह बनाएर चोरहरूलाई निगरानी गर्ने गरेको बताए ।
केही दिनअघि खजुरा निवासी राजनीतिकर्मी एवं सामाजिक अगुवा सतिश निरौलाले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘जानकी गाउँपालिका–४, खजुराखुर्दमा मध्यरातमा एकैपटक ५ वटा ड्रोन उडाएर गाउँको रेकी चोर र लुटेरा गरेको हल्ला फैलियो । सोही ठाउँमा केही दिन अघि चोर घरमा पस्न लाग्दा स्थानीयहरूले थाहा पाएर हल्ला गरेपछि भागेको स्थानीयहरू बताउँछन् ।’ उनले चोरी गर्न भारतीय नम्बर प्लेटका बोलेरो गाडी र मोटरसाइकल समेत प्रयोग गरेको समेत स्थानीयले बताएका लेखेका थिए ।
‘त्यहाँ केहिदिन यता मानिसहरू राम्रोसँग निदाउन समेत नसकेको स्थानीय बताउँछन् । चोरी गर्न हिडेको समूहले घर बाहिर सुतेका एक युवालाई कुटेको समेत खुर्द खजुराका स्थानीयले बताए,’ उनले लेखेका छन् । नेपालगन्ज निवासी नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले पनि आफूलाई नेपालगन्जका विभिन्न ठाउँबाट चोरीका घटनाहरू भइरहेको भनेर गुनासो आएको बताए । नेपालगन्ज वडा नम्बर १३ का विभिन्न स्थानमा चोरहरूको विगविगी रहेको भन्दै फोन आउने गरेको बताए ।
तर, बाँके प्रहरी भने त्यसरी चोरहरूको विगविगी बढेको र आतंकित हुनुपर्ने अवस्था नभएको बताउँछन् । मानिसहरूमा चोरीका घटना हुनसक्नेप्रति सचेत हुनु निकै सकारात्मक कुरा भएपनि सामाजिक सञ्जालमा आएका घटनाहरू धेरैजसो हल्लामा आधारित रहेका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीमगर बताउँछन् । उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘जानकीमा ड्रोनको प्रयोग गर्दै चोरहरूले रेकी गरेको भन्ने कुरा पूर्णतः हल्ला हो । रातीमा आकाशका तारा चम्किएको देखेर कसैले हल्ला फैलाएको देखिन्छ । अरु कुरा पनि जसरी सामाजिक सञ्जालमा ती धेरैजसो हल्लामा आधारित छन् ।’
एसपी घर्तीमगरले अहिले स्थानीयहरू आफैँ समूह बनाएर चोरहरूलाई निगरानी गर्ने गरेको विषयमा प्रहरी पनि जानकार रहेको र कतिपय यस्ता समूहहरूले दुर्घटना पनि निम्त्याइरहेको घर्तीमगरको भनाइ छ । उनले साउन १६ गते जानकीको बेलभारमा एउटा सामान्य चोरीको भएको केही दिनपछि स्थानीय युवाहरूले एकजना व्यक्तिलाई रातीको समयमा हिडिरहेको बेला कुटपिट गरी घाइते बनाएको बताए ।
साउन २१ गते आफ्नी फुपुको घर जान भनी हिडेका राप्ती सोनारी गाउँपालिकाका संगीत वैश्य र उनका साथिहरूलाई स्थानीयहरूले चोरको आरोप लगाउँदै पिटेपछि उनी अस्पताल भर्ना हुनुपरेको बताए ।
वैश्यको टाउकोको अपरेसन भएकोमा सोही ठाउँमा चोट लागेपछि गम्भीर अवस्था निम्तिएको उनले बताए । घटनापछि स्थानीयहरूले गल्ती स्वीकार गर्दै वैश्यको औषधीउपचार गरिदिएको एसपी घर्तीमगर बताउँछन् । उनले अन्य स्थानमा पनि चोर निगरानी गरिरहेको भन्ने समूहहरूले निर्दाेष बटुवाहरूलाई पनि कुटपिट गर्ने गरेको, स्थानीय समूहहरूले नै एकअर्कालाई चोरको आरोप लगाउँदै झडपको स्थिति उत्पन्न हुने गरेको एसपी घर्तीमगरको भनाइ छ ।
उनले प्रहरीले चोरी बढेको भनेर आएका कुराहरूलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित क्षेत्रहरूमा गस्ती बढाएको र प्रहरी चौकी इन्चार्जहरूलाई बोलाएर कडा निगरानी राख्न र दुर्घटना निम्तन नदिन निर्देशन दिइसकेको एसपी घर्तीमगरले मिसन टुडेसँग बताए । उनले चोरी हुन सक्नेतर्फ चनाखो हुन तर हल्लाले प्रभावित भएर आतंकित नहुन पनि आग्रह गरेका छन् । घर्तीमगरका अनुसार नेपालगन्जमा पछिल्लोपटक भएको चोरीको ठूलो घटना नेपालगन्ज वडा नम्बर ४ को एक घरबाट गहगहना र धनमाल चोरी भएको घटना मात्रै रहेको र बाँकी मोबाइल, साइकल, मोटरसाइकल चोरीका घटनाका जाहेरीहरू प्रहरीमा आउने गरेको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्