धनगढी ।
अविरल वर्षासँगै निरन्तर पहिरो आउन थालेपछि डडेल्धुरा र बैतडीमा रातिको समयमा यात्रा गर्न रोक लगाइएको छ । लगातार पहिरो खसिरहेको डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्गमा रातिको समयमा सवारी सञ्चालन रोक लगाइएको छ । गन्यापधुरा गाउँपालिका–२ रडुवा खोलानजिक लगातार पहिरो खसिरहेकाले अर्को सूचना नआएसम्म बेलुकी ७ बजेदेखि बिहान ५ः३० बजेसम्मका लागि यात्रा रोकिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रशासनले सर्वसाधारण यात्रु, चालक तथा सरोकारवाला निकायलाई उच्च सतर्क रहन आग्रह गरेको छ । पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी बैतडीका मुख्य राजमार्ग तथा सहायक सडकमा सोमबार रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । विपद्को जोखिम रहँदासम्म आपतकालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
गृह मन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको उनले बताए । उनले भने, ‘अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुन्छ । त्यसैले विपद्को जोखिम रहँदासम्म आपतकालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका हौँ ।’









प्रतिक्रिया दिनुहोस्