सशस्त्रका दुई बीओपीसहित ५२ घर डुबानमा



अविरल वर्षापछि जोगबुडा नदीको बाढी पस्दा सशस्त्र प्रहरीका दुई बीओपीसमेत डुबानमा परेका हुन् । दोधाराचाँदनी नगरपालिका–७ र वडा नम्बर १० मा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) डुबानमा परेका छन् । बीओपी डुबानमा परेपछि दुवै पोष्टमा कार्यरत ५२ जना सशस्त्र प्रहरीहरूले प्रयोग गर्ने सरसामान, खाद्यान्न लगायतका सामाग्री सुरक्षित स्थानमा सारिएको छ ।

कञ्चनपुर ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न नदी तथा खोलानालामा पानीको बहाव बढेको छ । दोधाराचाँदनी भएर बग्ने जोगबुढा नदीमा पानीको सतह बढेसँगै तटबन्ध फुटेर नदी गाउँ पस्दा दोधाराचाँदनी नगरपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् ।

दोधाराचाँदनी नगरपालिका–८ को रामपुरे टापुका डुबानमा परेका २५ घरका ७० जनालाई जनज्योती माध्यमिक विद्यालय, वडा नम्बर ३ को पटराखल्लाका १५ घरका ५५ जनालाई जमुना आधारभूत माध्यमिक विद्यालय, वडा नम्बर १० को शान्ति टोलका १२ घरका ४० जनालाई अम्बिका माध्यमिक विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले जानकारी दिए ।
उनकाअनुसार अविरल वर्षापछि जोगबुडा नदीको बाढी पस्दा सशस्त्र प्रहरीका दुई बीओपीसमेत डुबानमा परेका छन् ।

डीएसपी बोहराले दोधाराचाँदनी नगरपालिका–७ र वडा नम्बर १० मा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) डुबानमा परेको बताए । बीओपी डुबानमा परेपछि दुवै पोष्टमा कार्यरत ५२ जना सशस्त्र प्रहरीहरूले प्रयोग गर्ने सरसामान, खाद्यान्न लगायतका सामाग्री सुरक्षित स्थानमा सारिएको छ । उनकाअनुसार वडा नम्बर ७ को बीओपीका सशस्त्र प्रहरीसहित सामानसहित स्थानीय सहरी खोप केन्द्र र वडा नम्बर १० को २३ जनालाई ओमबार आधारभूत विद्यालयमा सारिएको छ ।

उनीहरूलाई सुरक्षित स्थानमा सारिएपनि बाढीमा फसेकाहरूको उद्दार लगायतका काममा समेत उनीहरू खटिएका छन् । स्थानीय प्रशासनले स्थानीयहरूलाई उच्च जोखिम क्षेत्रबाट टाढा रहन र आवश्यक परेमा तत्काल उद्धारको लागि सम्पर्क गर्न सतर्क रहन आग्रह गरेको छ ।अविरल वर्षाका कारण कञ्चनपुरकै भीमदत्त नगरपालिका वडा नम्बर १५ तल्लो गोबरियामा बस्ने जयन्ती बोहराको भैँसीगोठ भत्केको छ ।यसअघि, भीमदत्त नगरपालिका वडा नम्बर १० भुजेला क्षेत्र पनि डुबानमा परेको थियो ।

सेन्सोरियल स्कुल डुबानमा परेपछि वरपरका घरमा पानी पसेको छ । त्यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेला क्षेत्रका घरहरूमा भुजेला खोलाको पानी पसेको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दासहितको उद्धार टोली प्रभावित स्थलमा खटिएका थिए । महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै गएपछि नेपाल–भारत सिमानामा रहेको बनबासा पक्की पुलमा चार पाङ्ग्रे र तिन पाङ्ग्रे सवारीसाधनको आवतजावत पूर्णरूपमा बन्द गरिएको थियो । स्थानीय प्रशासन र सुरक्षा निकायहरूले स्थानीयबासीलाई उच्च जोखिम क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न र आवश्यक परेमा तत्काल उद्धारको लागि सम्पर्क गर्न सतर्क रहन आग्रह गरेका छन् ।

बैतडीमा पहिरोमा परेर एकजना घाइते

वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ । घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको बताए ।

घरभित्र पुरिएकी उनको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले जानकारी दिए । पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन् । चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी पुरिएर मरेका हुन् । यसका साथै घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार