
कोहलपुर (बाँके) ।
रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सोमबार पहिलो हुने निर्वाचित प्रणालीतर्फको निर्वाचन कार्यक्रम (कार्यतालिका) सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने र ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने समय तोकिएको छ ।
असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरुद्धमा उजुरी दिने समय तोकिएको निर्वाचन आयोगद्वारा जारी कार्यतालिकामा उल्लेख गरिएको छ । यस्तै मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने असोज २२ गते दिउँसो ३ बजेदेखि २३ गते बेलुका ५ बजेसम्म तोकिएको छ । त्यसपछि राति ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।
असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन १ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तालिका रहेको छ । सोही दिन ३ बजेदेखि ६ बजेभित्रै उम्मेदवारलाई निर्वाचन चिन्ह्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।
मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ । २०७९ को आम निर्वाचनमा रूपन्देही–३ बाट राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।









प्रतिक्रिया दिनुहोस्