शेरबहादुर ऐर । कैलाली ।
भदौ २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको चुनावी सरगर्मी बढेको छ । संघको चुनावी मिति नजिकिँदै गएसँगै नयाँ कार्यसमितिको लागि दाबेदारी प्रस्तुत गर्दै व्यवसायीहरू आफ्नो पक्षमा माहोल बनाउन सक्रिय बनेका छन् । संघको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी नै घोषणा गरिसकेका छन् । अहिलेका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले अध्यक्षमा उम्मेदारी घोषणा गरेका हुन् ।
स्वाँर समूहले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्यानल र घोषणापत्र सार्वजनिक गरेको छ । ‘व्यवसाय र व्यवसायीको सुरक्षा ः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चुनावमा होमिएको स्वाँर प्यानलले जनाएको छ । ‘व्यवसायीको मुलुकमा बढ्दो योगदानलाई मुलुकको नीति निर्माण तहसम्म पु¥याउने मात्र नभई, यो हाम्रो प्रतिबद्धता हुनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘व्यवसायीलाई दैनिक क्रियाकलापमा देखिने कठिनाइ, समस्या र चुनौतीहरूको समाधानलाई नै आफ्नो पहिलो कार्यसूचीका रूपमा लिनेछौँ ।
कैलाली उद्योग वाणिज्य संघलाई अझ सशक्त बनाउन र संघलाई थप अगाडि बढाउन अमूल्य मतबाट जिम्मेवारी बहन गर्ने अवसर दिनुहुनेछ भने व्यवसायीको साझा आस्था कायम पाउने छौँ ।’ व्यवसाय र व्यवसायीको हकहितको लागि कानुनी तथा प्रशासनिक समस्याहरूको स्थायी विशेष पहल, स्टार्टअप, इनोभेसन र क्रियसन लगायत नयाँ उद्यमशील उर्जासाथ युवा व्यवसायीहरूको लागि कोषसमेत सञ्चालन गर्ने, विपद् व्यवस्थापन कोषको स्थापना र उद्योग व्यवसायीहरूको चाहनाअनुसार विधान संशोधन र परिमार्जन गर्ने, बैंक तथा वित्तीय संस्था, कर, भन्सार, बीमा लगायतका हाल विद्यमान समस्याको प्रभावकारी समाधानका लागि ठोस पहल गर्ने लगायतका प्रतिबद्धता स्वाँर प्यानलको छ ।
स्वाँरको प्यानलबाट केशवराज जोशी वरिष्ठ उपाध्यक्ष लड्ने भएका छन् । उनी वर्तमान उपाध्यक्ष पनि हुन् । यस्तै, उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन् । स्वाँर प्यानलबाट महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार रहेका छन् । सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्ट उम्मेदवार छन् । घोषणा कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पुष्पराज कुँवर पनि सहभागी थिए ।
स्वाँर २०७५ पुसमा भएको संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए । उनी उक्त निर्वाचनमा पुष्पराज कुँवरसँग ७९ मतले पराजित भएका थिए । २०७९ जेठमा भएको निर्वाचनमा भने उनी चुनाव लडेका थिएनन् । घोषणापत्र र प्यानल घोषणा कार्यक्रममा अहिलेका अध्यक्ष पुष्पराज कुँवर सहभागी थिए । अध्यक्षका उम्मेदवार स्वाँरले खाद्यान्न, कपडा, अफसेट, हार्डवेयर, पेयपदार्थ लगायत सबै क्षेत्रका व्यवसायीहरूलाई समेटेर उम्मेदवार खडा गरिएको दाबी गरे । उनले महासचिवको नेतृत्व निर्वाह गर्दै गर्दा उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वअन्र्तगत थुप्रै काम भएको बताए ।
उनले भने, ‘धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पतालमा आइसियु निर्माण, पर्यटन क्षेत्रको संवद्र्धन लगायत प्रदेशको समृद्धिका लागि संघबाट पहल गरिएको थियो । अब महोत्सवलाई भन्दा पनि साना व्यवसायीहरूलाई टिकाउन मेरो टिमको काम रहनेछ ।’ अहिलेका वरिष्ठ उपाध्यक्ष ओझाले पनि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै प्यानल र घोषणापत्र सार्वजनिक गर्ने बताएका छन् । यस्तै संघको निर्वाचन नजिकिएसँगै आधिकारिक समूहहरू सार्वजनिक गरिनसकेको पुष्कर ओझा प्यानलले आइतबार धनगढीस्थित व्यवसायीहरूको पसल–पसल गई घोषणा कार्यक्रममा उपस्थित हुन निमन्त्रणा कार्ड वितरण गरेको छ ।
ओझा समूहबाट उम्मेदवारका आकांक्षीहरूले आफ्नो पक्षमा मतदान गराउन व्यवसायीहरूमा आज (सोमबार) हुने घोषणा कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा कार्ड पसल–पसलमा भेटघाट गर्दै वितरण गरेको हो । अध्यक्ष पदका उम्मेदवार ओझाले सोमबार हुने कार्यक्रममा सहभागी भइदिन भनी निमन्त्रणा कार्ड वितरण गरेको बताए । सदस्य पदका उम्मेदवार सुरेश सापकोटाले ३ बजे होटल पौवामा घोषणा कार्यक्रम रहेकाले सबै व्यवसायीहरूलाई सहभागी भइदिन हुन अनुरोध गरे ।









प्रतिक्रिया दिनुहोस्