
काठमाडौँको टुँडिखेलमा प्रशसा संरक्षण समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको प्रमुख गौरा पर्व कार्यक्रम गौरा माताको प्रतिक लिएर पर्व मनाउँदै सुदूरपश्चिम प्रदेशका नागरिक। तस्बिरः हरिराम भेटुवाल/रासस
धनगढी ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आइतबार अठवाली अर्थात् अष्टमी हर्षोल्लासका साथ मनाइएको छ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आइतबार गौराका दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लागेको छ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाएका हुन् ।
सुदूरपश्चिमको मौलिका संस्कृतिको रूपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ । गौरा पर्वमा काम विशेष र रोजगारीका सिलसिलामा भारतलगायतका देशमा गएकाहरू फर्किएपछि गाउँघरहरू भरिभराउ भएका छन् । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरूले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रूपमा सुरुवात गर्दछन् ।
भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा बिरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहिता महिलाहरूले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ ।
अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । यस दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । गौरा पर्वको मुख्य आकर्षणको रूपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्थालगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुखदुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।
धनगढीमा आजदेखि गौरा महोत्सव

डडेल्धुरा अजयमेरू गाउपालिका १ मुद्राड मा गाैरा पर्वकाे दाेस्राे दिन वरूणा पूजाका लागि गाैरादेवीकाे प्रतीक र महेश्वरकाे प्रतिकलाई बाहिर निकाल्दै वर्तालु महिला । तस्बिर : धनबहादुर भण्डारी / रासस
धनगढीमा गौरा महोत्सव हुने भएको छ । गौरा पर्वका अवसरमा आजदेखि धनगढीको खुलामञ्चमा गौरा महोत्सव हुने भएको हो । देउडा प्रतिष्ठानले गौरा महोत्सवको १०औँ संस्करण आयोजना गर्न लागेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत रावत डोटेली कान्छाले बताएका छन् । उनले प्रतिष्ठानले हरेक वर्ष गौरा पर्वको अवसरमा महोत्सवको आयोजना गर्ने गरेको बताए ।
धनगढीको खुला मञ्चमा ३ दिनसम्म सञ्चालन हुने गौरा महोत्सवमा विभिन्न समुदायका झाँकी, चर्चित देउडा गायक गायिकाका दोहोरीसँगै विद्यालयस्तरीय देउडा प्रस्तुति रहने अध्यक्ष रावतले बताए । काली–कर्णालीको पहिचानको रूपमा रहेको देउडालाई देशविदेशमा प्रचारप्रसार गर्ने हेतुले महोत्सव आयोजना गर्ने गरिएको उनले बताए ।
यस क्षेत्रको पर्यटन प्रबद्र्धनका साथै भाषा, कला, साहित्य, संस्कृति, भेषभूषा र रहनसहनको प्रचारप्रसार एवम् युवा पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित गर्न महोत्सवले महत्वपूर्ण योगदान पु¥याइरहेको उनले बताए । सुदूरपश्चिम गौरा महोत्सवमा कुनै पनि शुल्क नराखिएको आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्