एसपी राणाको चार महिनामै सरुवा



धनगढी ।

कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा हेडक्वाटर तानिएका छन् । प्रहरी प्रधान कार्यालयले बुधबार काज सरुवा गरेर एसपी राणालाई तानेको हो । आफ्नो सरुवा भएको एसपी राणाले पुष्टि गरे ।

एसपी राणाको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीको नयाँ प्रमुखमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसपी नरेन्द्र चन्दलाई पठाइएको छ । स्रोतका अनुसार कैलाली कारागार घटनालाई लिएर एसपी राणाको सरुवा भएको हो । उनी कैलाली आएको चार महिना नपुग्दै सरुवा भएका हुन् । राणाले गत वैशाख २३ गते कैलाली प्रहरीको नेतृत्व सम्हालेका थिए ।

गएको साउन २३ गते राति कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका थिए । सोही घटनामा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई साउन २८ गते नै गृहमा तानिएको थियो । उनको स्थानमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली खटाइएको छ । घटना भएको तीन सातापछि एसपी राणाको सरूवा भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार