शेरबहादुर ऐर । कैलाली ।
भारतीय सीमावर्ती सहरमा बर्डफ्लु संक्रमण देखिएपछि कैलाली र कञ्चनपुरका स्थानीयहरू नेपालमा भित्रिन नदिन सक्रियता देखाएका छन् । खुला सिमानाका कारण भारतबाट भित्रिने कुखुराहरूमा रोक लगाउन स्थानीयहरूनै सक्रिय भएर लागेका हुन् । खुला सिमानाका कारण कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट नेपाल भित्रिने अवैध कुखुराबाट बर्डफ्लुको महामारी फैलिने जोखिम बढेपछि सर्वसाधारण व्यवसायी आफैँ त्यसबाट जोगिन सतर्क बनेका छन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका कुखुरापालक किसानहरूले सीमा क्षेत्रमा रातभर पहरा दिन थालेको जनाइएको छ । दोधारा चाँदनी नगरपालिका १ नम्बर वडा कार्यालयको बयलबन्द क्षेत्रमा तीन दिनदेखि किसानहरूले कुखुरा र कुखजुरान्य वस्तुको पैठारी रोक्न रातभर नाका क्षेत्रमा चौकीदारी गरिरहेको बताइएको छ । चारा दाना संघ कञ्चनपुरका अध्यक्ष स्थानीय भरत भट्टले भारतमा बर्डफ्लु संक्रमण देखिएपछि नेपाल भित्रिन नदिन सीमा नाकामा रातभर खटिएर बस्न थालेको बताए ।
‘बर्डफ्लु संंक्रमण रोक्न रातभरि बसिरहेका छौँ, भारतबाट आउने कुखुरा र कुखुराजन्य वस्तु भित्रिन नदिन भनेर बसेका छौँ, त्यसबाट बर्डफ्लु आएपछि सबैभन्दा बढी नोक्सान हामीलाई नै हुन्छ,’ उनले भने । अध्यक्ष भट्टका अनुसार साँझ ८ बजदेखि बिहान ८ बजेसम्म दैनिक ३०–३५ जना किसानले बयलबन्ध क्षेत्रमा रातभरि पहरा दिने गरेका छन् । दोधारा चाँदनी नगरपालिकासहित भारतसित जोडिएको खुला सीमा क्षेत्रबाट अवैधरूपमा कुखुरा र कुखुराजन्य वस्तुको पैठारी हुने गरेको अध्यक्ष भट्टले बताए ।
‘ब्रह्मदेबदेखि डोके बजारसम्मको सीमा क्षेत्र खुला, छेउछाउका बोर्डरबाट फाटुफटरूपमा चल्ला र ठूलो कुखुरा भित्रिने गरेको छ,’ अध्यक्ष भट्टले भने, ‘कडा चेकजाँच गरिनुपथ्र्यो, त्यसो हुन सकेको छैन ।’ भारतीय सीमावर्ती क्षेत्रबाट टोकरी, साइकल र मोटरसाइकलमा कुखुराका चल्ला र ठूलो कुखुरा भित्रिने गरिएको अध्यक्ष भट्टले बताए । भारतीय क्षेत्रबाट टोकरीमा सबैभन्दा बढी कुखुराका चल्ला आउने गरेका छन् ।किसानहरूले तीन दिनमा भारतबाट आएका कुखुरा र चल्लाहरू नियन्त्रणमा लिएर सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टलाई समेत बुझाएका छन् ।
केहीलाई सम्झाएर फिर्ता गरिदिएका छन् । रातभर पहरामा बसेका किसानले अपेक्षित साथ समर्थन नपाएको गुनासो गरेका छन् । ‘भारतीय सीमावर्ती क्षेत्रमा यो संक्रमण देखिसकेको छ, हामीले नियन्त्रण गर्न सकेनौँ भने संक्रमण भित्रिने सम्भावना धेरै छ,’ अध्यक्ष भट्टले भने, ‘हामीले यसमा सोच अनुसारको साथ र समर्थन पाउन सकेका छैनौँ ।’ भारतको उद्यमसिंह नगर र बागेश्वरमा बर्डफ्लु पुष्टि भएको समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले भारतीय सीमावर्ती क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य वस्तु पैठारीमा सचेतना अपनाउन आग्रह गरेको छ ।
केन्द्रका प्रमुख पशु चिकित्सक निर्देशक श्यामसिंह खड्काले भारतको उद्यमसिंह नगरमा बर्डफ्लु पुष्टि भएको समाचार आएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जानकारी दिए । ‘केही दिनअघि भारतको उद्यमसिंह नगर र बागेश्वरमा बर्डफ्लु पुष्टि भएको समाचार अमर उजाला दैनिकमा आएको छ, यो समाचारलाई आधार बनाएर अहिले सीमावर्ती क्षेत्र र कुखुरा किसानलाई सतर्कताका लागि आग्रह गरिरहेका छौँ,’ उनले भने ।
उद्यमसिंह नगर सीमावर्ती क्षेत्र भएकाले सतर्कता अपनाउन नसकिए बर्डफ्लु संक्रमण भित्रिन सक्ने चिन्ता खड्काले गरे । ‘सीमा क्षेत्र नजिक छ, त्यसैले यो अति नै संवेदशील छ, जुनसुकै बेला पनि आउन सक्छ, त्यसैले सबैले संवेदनशील बन्न आवश्यक छ,’ उनले भने । कार्यालय प्रमुख खड्काका अनुसार संक्रमित कुखुरा, कुखुराको खाना, खाना खुवाउने भाँडाकुँडा, बसाइँसराइ गर्ने चराचुरुङ्गीबाट बर्डफ्लु आउन सक्ने उच्च जोखिम भएको बताए । ‘बसाइँसराइ गर्ने चराचुरुङ्गीबाट समेत आएर ठूलो क्षति हुन सक्छ, यसका लागि सचेतना अपनाएर मात्रै न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने ।
कार्यालयले सीमावर्ती क्षेत्रबाट कुखुरासहित कुखुराजन्य वस्तु लगायतका सबै ओसारपासरमा नियन्त्रणका लागि सबैलाई आग्रह गरेको उनले बताए । ‘त्यसका लागि हामीले जनचेतना फैलाउने कार्य गरिरहेका छौँ,’ कार्यालय प्रमुख खड्काले भने । कञ्चनपुरको ब्रह्मदेबदेखि डोकेबजारसम्म भारतसित खुला सीमा छ । विज्ञ केन्द्रले प्रशासन कार्यालयसँग पनि नियन्त्रणका लागि समन्वय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्