जन्मदिन मनाउन गएका चार किशोरको डुबेर मृत्यु



कैलाली ।

साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका ४ जना किशोरको खोलामा डुबेर मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ को खुटिया खोलामा नुहाउन गएका ४ किशोरको बिहीबार डुबेर ज्यान गएको हो । खोलामा ७ जना गएको भए पनि ३ जना भने पौडिएर निस्किएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । मृतकमध्ये २ जना धनगढी उपमहानगरपालिका–५ तारानगर र हसनपुरका हुन् भने २ जना धनगढी उपमहानगरपालिका–४ का हुन् ।

मृत्यु हुनेमा तारानगरका १६ वर्षीय सक्षम जोशी, हसनपुरका १७ वर्षीय प्रतिक चौधरी, धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय जेब भण्डारी र १७ वर्षकै जाबेज भण्डारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिए । उनीहरू साथीहरूको समूहमा जन्मदिन मनाउन गोदावरी नगरपालिका ९ खुटिया खोलामा पुगेका थिए ।

‘त्यहाँ केक पनि काटिएको छ । लुगा फुकालेर तलबाट पारि गएछन् । त्यहाँ केक काटेर केही माथिबाट उनीहरू सातै जना हात समातेर वारि लुगा भएतिर आउँदै रहेछन्,’ डीएसपी चन्दले भने, ‘४ जना गहिरो भागमा फँसे । हात फुत्किएर पौडी खेलेर ३ जनाले ज्यान जोगाए ।’ उनीहरूसँगै गएका १७ वर्षीय नवीन डडाल, १७ वर्षीय युवराज कुँवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल छन् ।

उनका अनुसार मृतक जेब र जाबेज जुम्ल्याहा दाजुभाइ हुन् । मृतक चारै जना किशोर धनगढीको वाल्मिकी इन्टरनेसनलमा कक्षा ११ मा अध्ययरत थिए । मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डीएसपी चन्दले जानकारी दिए । उनीहरू बिहीबार दिउँसो साढे १२ बजे बेपत्ता भएका थिए । स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा खोजी गर्दा उनीहरूको शव अपराह्न साढे ४ बजे फेला परेको थियो ।

धनगढी उपमहानगरपालिका–५ का वडाध्यक्ष गजेन्द्र शाहीले कलिलो उमेरका किशोरहरूको दुःखद घटना भएपछि विक्षिप्त बनाएको बताए । ‘जुम्ल्याहा दाजुभाइको एक÷दुई दिनअघि जन्मदिन रहेछ । साथीहरूसँग जन्मदिन मनाउन नपाएकाले रमाइलो गर्न खानेकुरा बोकेर त्यहाँ गएका थिए,’ उनले भने, ‘दुर्भाग्य त्यस्तो दुःख खबर सुन्नुप¥यो ।’

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार