शेफोक्सुण्डो निकुञ्ज आसपासमा भेटिए १२० वटा हिउँ चितुवा



वीरेन्द्रनगर ।

मुगु र डोल्पामा १२० वटा हिउँ चितुवा रहेको पाइएको छ । मुगु र डोल्पामा पर्ने शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा कूल १२० वटा हिउँ चितुवा भेटिएको निकुञ्जले जनाएको छ । निकुञ्जअन्तर्गत मुगुको मुगुमकार्मारोङ गाउँपालिकासहित डोल्पाका तीन वटा पालिका पर्दछन् । जसमध्ये निकुञ्जभित्र ९० र आसपासका राष्ट्रिय वनमा ३० वटा हिउँ चितुवा भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार निकुञ्जले चितुवाको सङ्ख्या यकिन गर्न करिब पाँच महिना लगाएर क्यामेरा ट्रयापिङ विधिबाट गणना गरेको हो । हिउँ चितुवा गणनाका लागि वन क्षेत्रमा ६६ वटा स्थानमा क्यामेरा जडान गरिएको थियो । यसअघि पूर्वी डोल्पा र आसपासका क्षेत्रमा २४ वटा र शेफोक्सुण्डोमा ६२ वटा हिउँ चितुवा रहेको अनुमान थियो । हाल हुम्ला र त्यसको आसपास क्षेत्रमा १६ वटा हिउँ चितुवा रहेको अनुमान छ । तर त्यस क्षेत्रको यकिन अझै भएको छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत वैशाखमा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालभर हिउँ चितुवाको सङ्ख्या ३३१ देखि ४७६ सम्म रहेको अनुमान छ । हिउँ चितुवा विश्वमा दुर्लभ मानिएको वन्यजन्तु हो । यस्तै तथ्यांकअनुसार शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जमा झारल, घोरल र नाउरको सङ्ख्या झन्डै चार हजार रहेको उल्लेख छ । झारल, घोरल र नाउर चितुवाको लागि मुख्य आहार हुन् । झारल, घोरल र नाउरको सङ्ख्या बढेकै कारण हिउँ चितुवाको सङ्ख्या पनि बढेको निकुञ्जको अनुमान छ ।

चोरीसिकार, आहारा, डढेलोले वासस्थानमा परेको जोखिम, जलवायु परिवर्तनको असरलगायत कारण हिउँ चितुवा संरक्षणमा चुनौती थपिएको छ । हिउँ चितुवा निगालो हुने वनमा बस्न मन पराउँछ । तर स्थानीयले घरायसी प्रयोजनका लागि निगालो प्रयोग गर्न थालेपछि मासिँदै जाँदा हिउँ चितुवाको वासस्थान जोगाउन समस्या भएको हो । हिउँमा बस्ने चितुवा भएकाले जलवायु परिवर्तनको असरका कारण हिउँ कम पर्दा जोगाउन मुस्किल भएको छ । जलवायु परिवर्तनका कारण हिमाल र पाटनहरूमा हिउँ नहुन थालेपछि वासस्थान संकट परेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार